‘मंगोलियन हर्ट’ पहिलो पटक नेपालगन्जमा
Sunday, December 17th, 2023, 8:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ पुष
नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हर्ट’ ले नेपालगन्जमा पहिलो पटक दर्शकहरुलाई मनोरञ्जन गराउने भएको छ । अग्रेजी नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु एयर इभ–२०२४’ मा गायक राजु लामा सहित मंगोलियन हर्ट ब्यान्डको प्रस्तुती रहनेछ ।
आयोजक सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आइतबार पत्रकार सम्मेलन गर्दै न्यु एयर इभ–२०२४ लाई अझ आकर्षक बनाउन अन्य कलाकारले पनि प्रस्तुती दिने जानकारी गरायो । आगामी पुष १५ गते साझ हुने कार्यक्रमको सुरुआतमा काठमाडौंको ‘सोल अफ मेलोडी’ को प्रस्तुती रहने छ भने कार्यक्रमको अन्त्यतिर ‘डिजे शेड’ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउनेछन् ।
नेपालगन्जमा मंगोलियन हर्ट जस्तो चर्चित ब्यान्डको पनि कार्यक्रम हुन्छ भन्ने सन्देश दिनको लागि कार्यक्रम आयोजना गरिएको सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्ज जनरल म्यानेजर राज विक्रम शाहले बताए । उनले भने,‘हामीले यो इभेन्टलाई नाफा कमाउने भन्दा पनि नेपालगन्जलाई चिनाउने कार्यक्रमका रुपमा लिएका छौ । धेरैलाई सोल्टीमा हुने कार्यक्रम मंहगो हुन्छ भन्ने लाग्छ । तर हामी निकै कम मुल्यमा यसपटक राम्रो कार्यक्रम गर्ने तयारी गरिरहेका छौ । यसले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिमा सकारात्मक सन्देश दिने प्रयास रहनेछ ।’
बेलुका ६ बजेबाट सुरु भएर राती १२ बजे सम्म चल्ने कार्यक्रममा सहभागि हुन लागि सिंग्गल टिकटको मुल्य २ हजार राखिएको छ । जसमा ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स पाईनेछ । डोर सेल टिकटको मुल्य २ हजार ५ सय रहेको छ । त्यसमा पनि ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स अफरका रुपमा दर्शकले पाउनेछन् ।
१० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । न्यु एयर इभ कार्यक्रमको संचालन समिरमान श्रेष्ठ र प्रेरणा गिरीले गर्नेछन् ।
न्यु एयर इभमा त्यससँगै डोर प्राइज, लाइभ बार एण्ड फुड काउन्टर, फायरवेर्क लगायतका सुविधा रहने सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका आइटी एण्ड डिजिटल मार्केटिङ एवम् कार्यक्रम संयोजक आकाश कुवरले बताए ।
२० लाख रुपैयाँ व्यवस्थापन खर्च रहेको कार्यक्रममा करिब ६ सय दर्शकहरुको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
जनरल म्यानेजर राज विक्रम शाहले नेपालगन्जलाई एउटा खुसीको सहर हो भनेर चिनाउनको लागि पनि कार्यक्रम आयोजना गरिएकोले यसबाट आफुहरुले फाइदा नहेरेको बताए । उनले भने,‘कार्यक्रममा अपुग रकम हामीले केहि प्रयोजनबाट जुटाउने प्रयास गरेका छौ । यसमा हामीलाई घाटा पनि नहोस, नाफा पनि नखोजेर गरेका छौं । त्यो भन्दा पनि नेपालगन्ज, कोहलपुर, सुर्खेतमा मंगोलियन हर्टलाई मन पराउने थुप्रै जना छन् । उहाँहरुका लागि यो इभेन्ट्स गरिएको हो ।’
…………….
आइतबार कार्यक्रमको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका मानव संशाधन प्रमुख खम्ब जंग शाह, सेल्स एण्ड मार्केटिङ एसिस्टेन्ट म्यानेजर ज्ञानेन्द्र विष्ट, कार्यक्रम संयोजक आकाश कुवर र चिफ इन्जिनियर रमेश केसीको सहभागिता रहेको थियो ।