भुकम्प प्रभावित क्षेत्रमा सहकर्मी समाजले सहयोग गर्दै
Tuesday, December 19th, 2023, 7:42 pm
Kalpristha
मार्सलराज सन्ज्याल
जाजरकोट, ३ पुष
सहकर्मी समाज नेपालको सहकार्यमा जाजरकोट र रुकुम पश्चिममा श्रम शिविर सञ्चालन गरिएको छ । सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा २५ जीर्ण घर व्यवस्थापन र रुकुम पश्चिममा १५ वटा अस्थायी घर टहराहरू निर्माण गरिएको हो । जाजरकोट भुकम्प प्रभावित क्षेत्रका भूकम्प पिडितलाई मंसिर भित्र अस्थायी आवासमा सर्ने भनिएता पनि प्रक्रियागत झन्झटका कारण प्रभावितहरु पालमुनी बास्न बाध्य भईरहेका छन् ।
पालिकाले लाभग्राहीको पहिचान कायम गरी मानविय र भौतिक क्षति भएका लाभग्राहीको पहिचान खुलाई सम्झौता गर्ने कार्यमा ढिला गरेको थियो । पालिकाको खातामा संघिय सरकारले पठाएको ५० करोड रकम पालिकाको खातामा थन्किएको छ । सहायक जिल्ला प्रमुख अधिकारी हरिशचन्द्र शर्माका अनुसार जिल्लाका कुशे, शिवालय, छेडाघाट, बारेकोट र भेरी नगरपालिकाका २० हजार ३ सय ९५ लाभग्राही कायम गरि ५० हजारका दरले ५० करोड ५८ लाख ७५ हजार सम्बन्धित पालिकामा पठाइएको छ । तर अहिले सम्म कुनैपनि पालिकाका लाभग्राहीले सहयोग पाउन सकेका छैनन् ।
पालिकाको प्रक्रियागत झन्झड्का कारण भुकम्प प्रभावित क्षेत्रका भुकम्प पिडितले अस्थायी आवासका लागी संघिय सरकारले छुटाएको अनुदान रकम पाउन सकेका छैनन् । बैंक खाता नभएका भुकम्प पिडितलाई सरकारले सिदै रकम दिन मिल्ले निर्णय गरे पनि स्थानिय सरकारले सबै लाभग्राहीलाई बैंक खाता खोल्न लगाएको छ । प्रहरी मुचुल्का तयार गर्ने जस्ता प्रक्रिया गत झन्झटका कारण अस्थायी आवासका लागि रकम पाउन नसकेको पिडितले बताएका छन ।
यतिबेला जाजरकोट भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत वितरणको गर्ने कार्य भइरहेको छ । विभिन्न संघ संस्थाहरुले राहत सामग्री सहित श्रम सहयोग गरिरहेका छन । सहकर्मी समाज नेपाल र फास्टन एक्सनको सहकार्यमा जाजरकोटको प्रभावित क्षेत्रमा सहयोग कार्य भैरहेको छ । भेरी नगरपालिका वडा नम्बर १ र ४ र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ७ का भुकम्प पिडितलाई अस्थायी आवासका लागी टहरा निर्माण र जिर्ण घर व्यवस्थापनको कामलाई तिब्रता दिएको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत घनश्याम आचार्यले जानकारी दिए ।

…………….
सहकर्मी समाज नेपालले जाजरकोट भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका वडा नम्बर १, कुन्निक वडा नम्बर ४ खलङ्गाको रानागाउँ र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ७ लिगा सहित तीन ठाउँमा आफ्ना स्वयंसेवकहरू परिचालन गरेको छ ।
जाजरकोटमा जीर्ण घरहरू व्यवस्थापन र रुकुम पश्चिममा अस्थायी घर टहराहरू निर्माण गरिरहेका छन् । अहिलेसम्म जाजरकोटको भेरी नगरपालिका १ र ४ मा २५ घर व्यवस्थापन गरिएको छ भने रुकुम पश्चिमको सानो भेरी गाउँपालिका वडा नम्बर ७ को लिगामा १५ वटा अस्थायी घर टहराहरू निर्माणको काम भइसकेको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत घनश्याम आचार्यले बताए।
गत मङ्सिर २७ गतेदेखि सुरु गरिएको श्रम शिविर पुस ५ गतेसम्म जारी रहने सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत नेत्र नारायण रेग्मीले जानकारी दिए । सहकर्मी समाज नेपाल को सहकार्यमा विभिन्न टोल विकास संस्थाहरूले राहतसमेत वितरण गरेका थिए । भूकम्पबाट अति प्रभावित भएका क्षेत्रमा उक्त राहत वितरण गरिएको हो ।
यतिखेर जाजरकोट र रुकुम पश्चिममा विभिन्न सहयोगी संघसंस्था राजनीतिक दलहरूले भूकम्प पीडितहरूको लागि बस्न नमिल्ने चर्किएको घरहरूको व्यवस्थापन र अस्थायी घर टहराहरु निर्माण गरिरहेका छन् । भूकम्पको डेढ महिना बित्यो अझै पनि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरूको त्रासमा दैनिकी बितिरहेको छ । चर्किएको घरहरूमा बस्नसक्ने अवस्था छैन भने विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत र त्रिपाल पर्याप्त छैन ।
नेपाल सरकारले घोषणा गरेको राहत समयमै नपुग्दा भूकम्प प्रभावित क्षेत्रका पीडितहरु झन समस्यामा परेका छन् । थप राहत नआएमा एक महिनाभित्रै भूकम्प प्रभावित सबै परिवारले खाद्यान्न अभावको सामना गर्नुपर्ने जोखिम बढेको स्थानीयहरूको गुनासो छ ।