भोलीबाट सुरु हुदैछ छैठौं नेपालगन्ज महोत्सव
Wednesday, December 20th, 2023, 7:08 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ४ पुष
नेपालगन्जमा हुन लागेको छैठौ नेपालगन्ज महोत्सवको तयारी पुरा भएको छ । बिहिबारदेखि सुरु हुन लागेको नेपालगन्ज महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक एजि सर्भिस प्रालि नेपालगन्जले जनाएको छ । नेपालगन्ज महोत्सव संयोजक एवम् एजि सर्भिस प्रालि नेपालगन्जका अध्यक्ष नन्द बुढाले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको बताएका छन् ।
नेपालगन्जको सडक डिभिजन कार्यालयको खुला मैदानमा हुन लागेको महोत्सव पुष ५ देखि १७ गते सम्म चल्नेछ । महोत्सवमा २ सय भन्दा बढी स्टल रहनेछन् । छैठौ नेपालगन्ज महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापार, संस्कृति र खेलकुदलाई प्राथमिकतामा राखेको आयोजकले बताएको छ ।
विशेष गरी कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि ५० वटा स्टल सहुलियतमा छुटयाइएको आयोजक एजि सर्भिस प्रालिका अध्यक्ष बुढाले बताए । कृषि स्टलमा आएका वस्तुको प्रवद्र्धन र पुरस्कृत पनि गर्ने योजना रहेको बुढाले जानकारी गराए । उनले भने,‘हामीले विगतका कमजोरीबाट सिक्दैं व्यवस्थापन राम्रो बनाउने प्रयास गरेका छौं । मेलालाई आकर्षक बनाउन बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, कुस्ती प्रतियोगिता हुँदैछ ।’
८० लाख बजेट रहेको महोत्सवमा करिब ३ हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेलाबाट करिब १ करोड रुपैयाँ आम्दानी गरिने अध्यक्ष बुढाले बताए । महोत्सवलाई थप आर्कषक बनाउन नेपाल र भारत हरियाणका चर्चित कुस्ती खेलाडीको सहभागिता रहनेछ ।
महोत्सव विहान १० बजेदेखि बेलुका ७ बजे सम्म चल्नेछ । महोत्सव हेर्न आउने दर्शकलाई प्रतिव्यक्ति १ सय रुपैयाँ र विद्यार्थीको लागि ८० रुपैयाँ टिकट निर्धारण गरिएको छ । बिहिबार लुम्बिनी प्रदेशका कृषि तथा पर्यटन मन्त्री भण्डारीलाल यादवले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।