नेपालगन्ज टेक्निकल कलेज पढेका कर्णको एप ७० लाखमा बिक्री
Thursday, December 21st, 2023, 8:09 pm
Kalpristha
कर्ण चर्चित बन्नुको कारण हो ‘एन्ड्रोइड एप पिक अप लाइन्स फ्लर्ट मेसेजेज् । जुन हालैमात्रमा करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ पुष
बर्दिया बाँसगढी–५ का कर्णबहादुर बुढा क्षेत्री अहिले नेपाली प्रविधि क्षेत्रमा निकै चर्चित बनेका छन् । कर्ण चर्चित बन्नुको कारण हो ‘एन्ड्रोइड एप पिक अप लाइन्स फ्लर्ट मेसेजेज् । जुन हालैमात्रमा करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ । उनले बनाएको उक्त एप इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडले ५३ हजार डलर अमेरिकन डलर अर्थात ७० लाख रुपैयाँमा किनेको छ । कर्णले नेपालगन्ज टेक्निकल कलेजबाट प्राविधिक क्षेत्रमा आफनो अध्ययनको सुरुआत गरेका थिए । नेपालगन्ज टेक्निकल स्कुलमा कर्णले २०७३ देखि २०७६ सम्म डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा अध्ययन गरेका थिए ।
कर्णको सफलताले कलेजको लागि गर्वको कुरा भएको बताउँछन नेपालगन्ज टेक्निकल कलेजका प्रिन्सिपल छिनिङलाल थापा मगर । उनी भन्छन,‘हाम्रो कलेजका लागि यो गर्वको कुरा हो । देशले नै उनको सफलतामा गर्व गरिरहेको छ । नेपाल जस्तो प्राविधिक क्षेत्रमा पछि परेको देशमा यो सफलता उच्च स्तरको छ । उनको एप विदेशी कम्पनीले महँगोमा किन्नु हाम्रो र कर्णको सफलता हो ।’ कर्णले हासिल गरेको उपलब्धीले प्राविधिक क्षेत्रमा आफुहरुले दक्ष जनशंक्ति उत्पादन गरिरहेको कुराको आभास गराएको थापामगरले कालपृष्ठ दैनिकलाई बताए । उनले अगाडी भने,‘कर्णले हासिल गरेको सफलता नयाँ विद्यार्थीहरुको लागि पनि प्रेरणाको विषय बन्नेछ । टेक्निकल शिक्षामा विद्यार्थीकोे भविष्य छ । यो उनको सफलताले पुनः एक पटक संकेत गरेको छ ।’
पछिल्लो समय काठमाडौंमा अध्ययन गरिरहेका कर्णले यो एपले साथी–भाइ र आफन्तसँग मिठा, रमाइलो, सम्झनलायक कुराकानी गर्न सहयोग गर्छ । यसका लागि एपमा पिकअप लाइनहरूको संग्रह राखिएको छ । एन्ड्रोइड ५.१ भन्दा माथिको भर्सनमा चल्ने यो एपलाई कर्णले गत वर्ष नोभेम्बरमा गुगल प्ले स्टोरमा अपलोड गरेका थिए । तर छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि डाउनलोड संख्या ह्वात्तै बढेको थियो । एपभित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिकअप लाइन रहेका छन् । जसलाई सजिलै कपि गरेर एसएमएस, ईमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिन्छ ।
………………..
एप खरिद गर्ने इजरायली कम्पनी राउन्ड्स एआईले अक्टोबर महिनामा उनलाई खरिदको प्रस्ताव पठाएको थियो । आफनो एपको सफलताको बारेमा बताउँदै कर्णले भने, ‘संचार माध्यममा उनले भनेका छन । विशेष गरेर अफ्रिका र युरोपका प्रयोगकर्ताहरू एपमा बढिरहेका थिए । आम्दानी क्रमशः बढिरहेको थियो । सोही समयतिर राउन्ड्स एआईले २५ हजार डलरमा एप किन्ने प्रस्ताव गरेको थियो ।’
एप खरिदको प्रस्ताव आएपछि स्क्याम जस्तो लागेर कम्पनीबारे अध्ययन गरेको र पछि वास्तविक भएको पत्ता लागेपछि छलफल अगाडि बढाएको कर्णले बताए । एपलाई ८ लाख बढीले डाउनलोड गरिसकेका थिए । उनले भने, ‘त्यस्तोमा किन्छ भन्दा शंका लागेको थियो । पछि कम्पनीबारे अध्ययन गरेपछि ढुक्क भएँ । अनि खरिदबिक्री सम्बन्धीको कुरा अगाडि बढ्यो ।’
त्यसपछि केही समयको कुराकानीमा राउन्ड्स एआई ५३ हजार डलर करसहितमा एप खरिद गर्न १४ नोभेम्बर ९कात्तिक २९० मा सहमत भएको उनले बताए । कर्ण भन्छन, ‘मैले जाभा प्रोग्रामिङ ल्याङ्गगेज प्रयोग गरेर यो एप बनाएको थिएँ । एपको डाउनलोड अग्र्यानिक (विज्ञापन नगरी प्राप्त भएको) थियो । एपको विज्ञापनमा लगानी शून्य थियो । एपमा कुनै कानूनी समस्या थिएन । रेभेन्यू दिनानुदिन बढिरहेको थियो । एप बिक्री गर्नुभन्दा एक महिना अगाडिको तुलनामा दुई गुणाले आम्दानी बढेको थियो । यिनै कारण मेरो एप त्यो कम्पनीले किनेको हुन सक्छ ।’
अहिले उनले एप इजरायली कम्पनीलाई हस्तान्तरण गरिसकेका छन् । साथै डिसेम्बर ८ सम्ममा एप बेचेबापतको पैसा उनले पाइसकेका छन् । एप खरिद गर्ने कम्पनीले एप किनबेच गरिरहने भएकाले केही समय लागेको उनले सुनाए । हाल कर्ण ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा तेस्रो वर्षमा अध्ययनरत छन् । एसईईपछि उनले नेपालगन्ज टेक्निकल कलेजमा सीटीईभीटीको तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेका थिए । उनी २०२० देखि एन्ड्रोइड एप डेभलपमेन्टमा लागेका थिए । सोही समयमा अर्को साथीसँग मिलेर ‘काकी डेभलपर’ मार्फत एप बनाउँथे । केही कारणवश साथी छुट्टिए । तर उनले सोही नाममार्फत एप बनाउने र प्ले स्टोरमा अपलोड गरिरहे ।
अहिलेसम्म उनले प्ले स्टोरमा दुई दर्जन बढी एप अपलोड गरिसकेका छन् । उनी नेपाको प्रविधि क्षेत्रमा योगदान दिने सोचमा छन्न् । यसअघि फ्रिल्यान्सिङ प्लेटफर्म अपवर्कमा समेत सक्रिय उनी विदेश जानुनपर्ने, बरु नेपालमै काम गरेर आम्दानी गर्न सकिने तर्क राख्छन् ।