खजुराको इ गाउँमा १ लाख पुरस्कार राशीको फुटबल सुरु
Sunday, December 24th, 2023, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ७ पुष
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा शनिबार देखि खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश प्रहरी गण खजुराले जित हासिल गरेको छ । उद्घाटन खेलमा प्रदेश प्रहरी गणले आयोजक न्यु दर्पण युवा स्पोट्स क्लबलाई २–० ले पराजित गरेको छ । प्रदेश प्रहरी गणको तर्फबाट दुबै गोल अर्जुन कुमालले गरेका थिए ।
खेलको म्यान अफ द म्याच बन्न सफल कुमाललाई सुवी एजुकेशन एण्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक विनोद बास्तोलाले पुरस्कृत गरे । न्यु दर्पण युवा स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको शनिबार भव्य समारोहका बिच उद्घाटन गरिएको थियो । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले गरेका थिए ।
प्रदेशसभा सदस्य खत्रीले खेलकुदको विकासको लागि आफुले पहल गर्ने बताउँदै ग्रामीण क्षेत्रमा खेलकुदका ठुला प्रतियोगिता हुनु आफैमा खुसीको कुरा भएको बताए ।
मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको खेल मैदानमा भैरहेको प्रतियोगिताको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, महासचिव कमल खत्री, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेपाली काँग्रेसका शंकर रावत, नेकपा माओवादी केन्द्रका राजकुमार विक र खड्ग वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार गिरी, क्लवका उपाध्यक्ष गोविन्द खत्री, सचिव भोला मल्ल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
आयोजक न्यु दर्पण युवा स्पोर्टस क्लबका अध्यक्ष प्रकाश केसीका अनुसार प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख उपविजेताले ५० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता पुषको १६ गते सम्म चल्नेछ ।