पुष २७ र २८ गते नेपालगन्जमा आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै
Monday, December 25th, 2023, 4:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ पुष
मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपालगन्ज रंगशालामा आगामी पुष २७ र २८ गते हुने प्रतियोगितामा ४ सय ९४ खेलाडीले प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । तेक्वान्दो खेलाडीलाई आफनो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बाँके जिल्लाका १३ डोजाङहरुको सहभागिता रहनेछ । प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ ।
आयोजक मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख एवम् प्रतियोगिता संयोजक होम बहादुर सुनारले बाँकेलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने प्रयास गरिने बताए । उनले भने,‘बाँकेमा तेक्वान्दोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थुप्रै पदक जितेका छन् । यस क्षेत्रमा तेक्वान्दोको स्तर बढाउन प्रतियोगिताले सहयोग गर्नेछ ।’
खेलको माध्यमबाट एकताको भावना सिर्जना गदै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकास गर्नमा पनि प्रतियोगिताले सहयोग गर्ने नेपाल आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेश अध्यक्ष समेत रहेका सुनारले बताए । नेपालगन्ज रंगशालामा सोमबार भएको पत्रकार सम्मेलनमा बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवम् नेपाल आइटीएफ तेक्वान्दो लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष विरेन्द्र शाही, नेपाल आइटीएफ तेक्वान्दो संघ बाँकेका पुर्व अध्यक्ष रञ्जित गिरी लगायतको सहभागिता रहेको थियो ।
मोडेल आइटिएफ तेक्वान्दो एकेडेमीका खेलाडीले विगतदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुँदै पदक जित्न सफल भएकोले प्रतियोगिता बाँके जिल्लाका खेलाडीहरुको लागि नयाँ अवसरको रुपमा रहेको आयोजकले बताएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई भव्य बनाउने तयारीमा रहेको आयोजक कमिटीले जनाएको छ । उद्घाटन समारोहमा विभिन्न सांस्कृति झाकी सहित नगर परिक्रमा, नृत्य तथा सांस्कृति कार्यक्रम र तेक्वान्दो खेलको प्रदर्शनीहरु देखाइने प्रतियोगिता संयोजक सुनारले कालपृष्ठ दैनिकलाई बताए ।
प्रतियोगितामा एकल प्याटन महिला र पुरुष, महिला र पुरुषको एकल स्पाइरिङ, पुरुष २० देखि ६५ केजी तौल समुह र महिला तर्फ २० देखि ६० केजि तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित टिमलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो । प्रतियोगिता आयोजना गर्न करिब १४ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक सुनारले बताए ।

……………