सिद्धार्थ विद्या सदन र फुल्टेक्रा स्कुल विजयी
Monday, December 25th, 2023, 7:18 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ९ पुष
सिद्धार्थ विद्या सदन र फुल्टेक्रा माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन् । नेपालगन्ज मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सिद्धार्थ विद्या सदनले जय बागेश्वरी सेकेन्डरी स्कुल नेपालगन्जलाई ४९ रनले पराजित गरेको छ । अर्को खेलमा फुल्टेक्रा स्कुलले श्री चन्द्र मेवालाल स्कुललाई ८ विकेटले हरायो ।
सोमबार सुरुआतमा ब्याट्रिङ गरेको सिद्धार्थ विद्याले १८.२ ओभरमा १ सय ३६ रन बनाएको थियो । सिद्धार्थका लागि रितेश सिंहले सर्वाधिक ५३ रन बनाए । प्रिन्सले १८ रन र प्रशान्त तामाङले १२ रन बनाए । जय बागेश्वरीका बिराज बर्माले सर्वाधिक ५ विकेट, भुवन शाही र सन्नी बेहलियाले २–२ विकेट लिए । जवाफमा बागेश्वरीका खेलाडी १२.५ ओभरमा ८७ रन बनाएर अलआउट भए । बागेश्वरीका प्रमित आचार्यले १३ रन बाहेक अन्यले दोहोरो स्कोर बनाएन सकेनन् । सिद्धार्थका सुमित नाउ, प्रशान्त तामाङ र कपिल गिरीले २–२ विकेट लिए । खेलमा अर्धसतक प्रहार गर्ने सिद्धार्थका रितेश म्यान अफ द म्याच घोषित भए ।

……………….
यसैगरी अर्को खेलमा सुरुआतमा ब्याटिङ गरेको श्री चन्द्र मेवालालले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ८ रन जोडेको थियो । चन्द्र मेवालालका लागि सिद्धार्थ नाउले ३० रन, मोहम्मद फैयजले २३ रन र आयुशले १८ रन बनाए । फुल्टेक्राका वलर रमन सोनीले ३ विकेट लिन सफल भए । जवाफमा फुल्टेक्राले १६.२ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । फुल्टेक्राका लागि बामदेव थापाले ४७ रन, निर्मल विष्टले २७ रन र युवराज शाहीले ७ रन बनाए । चन्द्रमेवालालका साद अन्सारी र हसनैन खानले १–१ विकेट लिए । खेलमा फुल्टेक्राका बामदेव थापा म्यान अफ द म्याच घोषित भए ।
सोमबारको खेलमा म्यान अफ द म्याच घोषित भएका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य दिपेन्द्र विष्ट र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष समीरप्रताव सिंहले पुरस्कृत गरेका थिए । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिता शनिबार देखि सुरु भएको हो । प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।