माग्न छाड्न थाले, मगन्ता यूवा
Tuesday, December 26th, 2023, 7:13 pm
Kalpristha
श्याम विहारी मगन्ता
नेपालगन्ज, १० बाँके
बाँके डुडुवा गाँउपालिका वडा नं.६ पहाडीयनपुरुवा बस्ने मुनेर मगन्ताका बाबा आमाले मागेरै जीवन बिताए । ५५ बर्षिय मुनेरले भने अटो रिक्सा चलाउँछन् । पुख्र्यौली काम नगरेर उनी रिक्सा चलाउनुका साथै बाख्रा र भैंसी समेत पालेका छन् । अटो चलाउने र दुध बेचेर घरखर्च जेनतेन धानिरहेका छन् । कुनै बेला बाबासँग लागेर माग्न पनि नहिडेका होइनन् तर धेरैले नराम्रो व्यवहार गर्ने, हेप्ने, गाली गर्ने गरेपछि उनलाई त्यतातिर लाग्न मन लागेन । बिगतको त्यो पीडा अहिले पनि उनी सम्झिरहन्छन् । घर घर चाहार्ने कामले पनि पेट पाल्न धौ धौ हुने देखेपछि मुनेरले त्यो काम छाडेर अर्कै व्यवसाय शुरु गरेका हुन् ।
उनको परिवारमा दुई छोरा, तिनवटा छोरी रहेका छन् । आर्थिक स्थिति कमजोर भएकारण छोरा छोरीलाई भने पढाउन सकेका छैनन् । उनकी पत्नी ४५ बर्षिया नासन्ती घरको काम गर्छिन् । यस्तै डुडुवा—६ का कासीराम मगन्ताले पनि माग्ने काम छाडिसकेका छन् । ४५ वर्षिय कासीरामलाई माग्न जाँदा लाजसँगै हिनताबोध पनि हुन्थ्यो । हट्टा कट्ठा छौ, काम गर्न सक्दैनौ ? भनेर जवाफ लगाएको देख्दा उनकोे मन दुख्थ्यो । तर पनि त्यती बेला बाध्यता थियो तर अहिले भने त्यो बाटो त्यागीसके । अरुको जग्गा अधिया(बटैया) लिएर उनी खेतिपाति गर्दछन् । अहिले फुर्सदमा भाडामा(अरुको) अटो रिक्सा पनि चलाउँछन् । परिवारमा दुई छोरा, चार छोरी छन् । घरमा बंगुर पनि पालेका छन् । बंगुर भने छोराछोरीले नै हेरिदिन्छन् ।
डुडुवा गाँउपालिका वडा नं.१ चौफेरी बस्ने ३५ बर्षिय मुन्नालाल मगन्ताको अवस्था पनि कासीरामसँग मिल्दो जुल्दो छ । मुन्नालालले माग्न छोडेको पनि १८ बर्ष भइसकेको छ । उनी मजदुरी गरेर जीवन गुजारा गरिरहेका छन् । उनको घरमा श्रीमती, दुई छोरा, चार छोरी छन् । उनको घरको आर्थिक अवस्था कमजोर छ । उनीसँग थोरै जग्गा छ, त्यो पनि राप्तिमा नदिको कटानमा परेको छ । सरकारी पर्ति जगामा फुसको घर छ । पछिल्लो समय मगन्ता युवाहरुले पुरानो माग्ने पेसा छोडेर आफुले रोजेको काम गर्न थालेका छन् । अधिकांस मगन्ताको भनाईलाई आधार मान्ने हो भने ७५ प्रतिशत मगन्ताले परम्परागत पुख्र्यौली काम छाडिसकेका छन् । ५० प्रतिशत मगन्ता भूमिहीन र सुकुम्वासी रहेको बताइएको छ । मगन्ताहरुको बाँकेको डुडवा—६ हिरमिनीया र डुडुवा— १ होलीयामा मात्रै बसोबास रहेको छ ।
लोपोन्मुख र संकटोन्मुख जातिका रुपमा रहेको मगन्ता जातिको पहिचान नै अहिले गुमनामको अवस्थामा छ । मगन्ताले महाउत पनि लेखाउने गर्दछन् । विशेषतः हात्ति डो¥याउने माहुत नै पछि मगन्ता भएको भन्ने गरिन्छ । मगन्ताहरु लोपोन्मुख जातिको सूचीमा छैनन् । आदिवासी जनजातिको सूचीमा पनि छैनन्, न दलितको सूचीमा नै छन् । सदियौंदेखि बसोबास गर्दै आएका मगन्ता (महाउत) जातिलाई राज्यले सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् । जातिको कुनै पनि सूचीमा नभएपछि मगन्ताहरु सामाजिक सुरक्षा भत्ता÷ अन्य सेवा सुविधाबाट पनि वञ्चित हुनु परिरहेको मगन्ता अगुवा शोभाराम मगन्ताले बताए । मगन्ताहरु सरकारी सेवा सुविधाबाट पनि वञ्चित छन् । मगन्ता जातिलाई दलित सुचिमा समावेश गरिदिनु पर्ने अगुवा शोभारामको अनुरोध छ । एक तथ्यांक अनुसार बाँके डुडुवा गाँउपालिका वडा नं.६ मगन्ता समुदायको कुल जनसँख्या पाच सय रहेको छ भने डुडुवा– १ को जनसँख्या एक सय जती छ ।
आफूहरूलाई राज्यले लोपोन्मुख जातिमा सूचीकृत नगर्दा बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्तासमेत नपाएको उनीहरुको गुनासो छ । डुडुवा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष पटेश्वर कुर्मीले मगन्ता समुदायको सामाजिक र आर्थिक अवस्था कमजोर रहेको स्वीकारे । मगन्ताहरुलाई लोपोन्मुख जातिको रुपमा सूचीकृत गरेर आवश्यक सेवा सुविधा दिन पहल गर्नु पर्ने उनको भनाई छ ।
डडुवा गाउँपालिकाले लोपोन्मुख जाति उत्थान कार्यक्रममार्फत वजेट छ्टयाइने गरिएको जनाएको छ । विशेषत मगन्ताकै लागि केन्द्रीत वजेट खर्च नभएपछि चाल आव १० लाख मात्रै छुटयाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गिर बहादुर सेजुवालले जानकारी दिए । गाउँपालिकाकाअनुसार औपचारिक प्रस्ताव माग नभएपछि प्रयाप्त खर्च हुन नसकेको हो । मगन्ता÷महाउत समुदायलाई लोपोन्मुख जातिमा समावेश गर्नका लागि माग हुँदै आएपनि लोपोन्मूख जातिमा सूचीकृत भइसकेका छैनन् ।