आइडियल सेकेन्डरी स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडियलले महेन्द्र सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको महेन्द्रले १८.१ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो ।
टोलीका लागि आर्यन खत्रीले ३१ रन, महेन्द्र आलेमगरले २० रन, विशाल खड्का र सौरभ शाहीले १०–१० रन बनाए । आइडियलका वलर अनस कसगर र असरफ हुसेन शाहले ३–३ विकेट, समिर अन्सारी र मुबारक अली शाहले २–२ विकेट लिन सफल भए । जवाफमा समिर अन्सारीले अविजित ३० रनको योगदान गरेपछि आइडियलले ३ बल बाँकी रहेको अवस्थामा जित हासिल गरेको थियो । १९.३ ओभरमा जित हासिल गरेको आइडियलका लागि समिरले ३६ बलमा २ चौका प्रहार गरे । समिर खेलमा म्यान अफ द म्याच समेत घोषत भएका थिए ।
आइडियलका अन्य प्रभावशाली ब्याटिङ गर्ने क्रममा अदान अन्सारीले ३० रन, असलम शेखले १३ रन र अनुराग बैश्यले ११ रनको योगदान गरे । महेन्द्रका वलर विशाल खड्काले ३ विकेट, आर्यन खत्री र निराजन चन्दले २–२ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच घोषित समिरलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष विवेक बाचपाईले पुरस्कृत गरे ।
यसैगरी मंगलबारको अर्को खेलमा कोहलपुरको बागेश्वारी एकेडेमीले वाकओभर दिएको छ । खेल तालिका अनुसार बागेश्वारी एकेडेमी र मंगलप्रसाद मावि बिच प्रतिस्पर्धा हुने तय थियो । तर बागेश्वरी एकेडेमी खेलमा सहभागि भएन् । ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिताको बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।
आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।