गौरभको सम्झनामा बृहत रक्तदान र ई–रिक्सा हस्तान्त्रण
Friday, December 29th, 2023, 6:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुष
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेका छन् । शुक्रवार आयोजित बृहत रक्तदानमा बिद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा ई–रिक्सा समेत हस्तान्त्रण गरिएको थियो ।
बृहत रक्तदान तथा ई–रिक्सा हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम को उद्घाटन गरेका थिए । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशन अध्यक्ष मधु शाहको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि नगर प्रमुख प्रशान्त बिष्ट, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, संस्थाका संरक्षक प्रदीप शाह, नेका बाँके महासमितिका सदस्य निरञ्जन सिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले आफनो भनाई राखेका थिए । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उप्न्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमाई, प्रशान्त तिवारी, मनिाष चन्द, केशर सिंह डाँगी र बीरेन्द योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुन, वडा सदस्यद्वय उत्तम सिंह सिजापति, सलीम मुसलमान लगायतको उपस्थिती रहेको थियो ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आर्थिक स्थित नाजुक भएका तथा एउटा खुट्टा नभएका बिक, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ५ का राजु खान लाई जीवन यापन गर्नका लागी ई–रिक्सा प्रदान गरेको छ । सो ई–रिक्सालाई प्रमुख अतिथि प्रशान्त बिष्ट र संस्थाकी अध्यक्ष मधु शाहले संयुक्त रुपमा हस्तान्तरण गरे । लुम्बिनी प्रदेशमा सवै भन्दा बढी रक्तदान गर्ने स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई संस्थाकी अध्यक्ष मधु शाहले खादा ओढाएर सम्मान गरिन् ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका परिकल्पनाकार नेपालगन्ज वडा नम्बर ४ निवासी गौरव शाहले आफ्नो पाकेट खर्चलाई बचाएर समाजमा स–सानो आवश्यकतामा परेकालाई सहयोग गर्दै आई रहेका थिए ।
गौरवको उक्त मानवीय कार्यलाई उनीहरूका साथीहरूले पनि साथ दिएका थिए । फाउण्डेशन दर्ता गर्नु अगाडी देखि नै सामाजिक सेवा गर्ने मन भएर मानवीय कार्यहरु गर्दै आएका थिए । अन्य दातृ निकायको सहयोग बिनानै स–सााना आधारभूत आवश्यकताबाट वञ्चित व्यक्तिलाई पाकेट खर्च बचाएर पनि सहयोग गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका गौरवको परिकल्पनाले गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनको जन्म भएको हो ।
……………
सामाजिक काममा निरन्तर लागि परेका गौरवले सबै युवा जनशक्तिलाई एकत्रित गरी संंस्था दर्ता गरेर बृहत रूपमा मानव सेवा गर्ने सोच बनाएका थिए । दुर्भाग्य समाजमा रहेका विपन्न, गरिब, दुखीलाई केही गर्छु भन्ने महान सोच लिएका गौरव धेरै समय हामी माझ रहेनन् । २०७८ साल असार १ गतेमा मृत्यु भइसकेपछि घरपरिवारले उहाँको सोंचलाई पूरा गर्ने उद्देश्यले गौरवका बुबा तथा संस्थाका संरक्षक प्रदीप शाहले गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसन २०७८ सालमा दर्ता गरेका थिए ।
………….