मुक्त कमैयाहरुका छोरा छोरी उच्च शिक्षाबाट वञ्चित हुदैं
Saturday, December 30th, 2023, 2:41 pm
Kalpristha
नेपालको संबिधान धारा ५१ को (ञ) मा मुक्त कमैया, कम्हलरी, हरवा, चरवा, हलिया, भूमिहीन,सुकुम्बासीहरूको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने भनेको छ । तर मुक्त कमैया र कमलरीहरुको जिवनस्तरमा अझै सुधार आएको छैन । सरकारले मुक्तकमैया र सुकुम्बासीहरुको जिवनस्तरमा सुधार ल्याउने खालको कार्यक्रम अझै बनाएको देखिदैन ।
अनुज थारु
बाँसगढी, १४ पुष
बाँसगढी ४ मदाहा गाँउकी अन्जना थारु आमा बुवाको एक्लो सन्तान हुन । कानून बिषय पढेर वकिल बन्ने सपना थियो अन्जनाको । २०८० मा अन्जनाले नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लक्ष्मणपुर बाट कक्षा १२ पास गरीन । कक्षा १२ मा राम्रै नम्बर ल्याएर पास गरेकी अन्जनालाइ अब कानुन पढन नेपालगंज जानु पर्ने भयो । तर जिवन आफुले सोंचे जस्तो मात्रै कहाँ हुन्छ र ? घरको कमजोर आर्थिक अवस्थाका कारण आमा बाबाले खर्च पुर्याउन नसक्ने भने पछी उनको वकील बन्ने सपनामा तुषारापात भयो । तर पनि अन्जनाले हीम्मत हारीनन् बरु उनले जिवनको नयाँ बाटो खोजीन र घर नजिक रहेको जनता मा.बि. बाँसगढी ४ बठुवामा भेटनरी बिषय लिएर पढ्न सुरु गरीन । तर पढ्न जान लागेको एक हप्ता नबित्दै उनको परिवारमा ठुलो बज्रपात भयो । उनको बुबाको अकस्मात मृत्यु भयो । उनको आशाको धरोहर ढल्यो । बुबाको मृत्यु पश्चात अन्जनाको पढाइ रोकीएको छ । पती बियोगमा अन्जनाकी आमा लौंगी थारु पनि बिछिप्त छीन ।

…………..
पहीले पहीले अन्जनाका बुबाआमा नेपालगन्जमा इट्टा गाडाको काम गर्थे । अन्जनाका बुबा मिस्त्री काम गर्थे भने आमा लौंगी थारु लेवरी । यि दुई दम्पत्ति बिगत १२।१५ बर्ष देखि नै इट्टा गाडाको काम गरेर अन्जनालाई पढाई, लेखाई गराउँदै आएका थिए । तर अहिले एक्कासी श्रीमानको मृत्यु भएपछि आमाछोरी ठुलो संकटमा परेका छन् । घरको मुल खामो नै ढले पछी घर केगरी सम्हाल्ने होला ? अन्जनाकी आमा लौंगी भक्कानिन्छिन । सम्पत्तिको नाममा मुक्तकमैयाबाट पाएको ५ कठ्ठा जग्गा र टिनले छाएको काँचो इट्टाको घरबाहेक अरु केही छैन । छोरीले पढ्न खोजेकी छ तर पैसा छैन, कसरी पढाउने ? कसैगरी छोरीलाई पढाउन पाए मेरो मन शान्त हुनेथियो, उनी बताउछिन् । अव छोरीलाइ पढाउने आफ्नो एउटै सपना रहेको लौंगी बताउछिन ।
लौंगी जस्तै बाँसगढी ४ मदाहाकी चैनी चौधरीको पनि कथा बेथाहरु उस्तै छ । समिर थारु चैनीका एक्ला छोरा हुन । कक्षा १० मा पढदैगरेका १६ बर्षिय समिर पढाइ छाडेर कालापहाड (भारत) भासीए । पढदै गरेको एक्लो छोरो मुग्लान पसे देखी चैनीको मन बेचैन छ । का कैना हो स्कुलीक कहल हस कापी, कलम, डीरेस स्कुल फिस टीरे नै सेक्ली मोर भक्खरीक छावा काला पहार जाइ पर्लिस (के गर्ने स्कुलले भने अनुसार कापी, कलम, डीरेस स्कुल फिस तिर्न नसकेपछी मेरो भर्खरको छोरालाइ काला पहाड जानु पर्यो) । दुइजनाको कमाहीले खान, लाउन र छोरा पढाउन नपुगेपछी कमैयाँ मुक्ति बाट पाएको ५ कठ्ठा जग्गा पनि बन्धकी राखेपछी समीर कालापहाड जान बाध्य भएका हुन ।
चैनी चौधरी माइतमा हुँदा कम्लहरी थिइन । भन्छिन, माइतमा रहदा सानैमा बुबा बित्नु भयो । त्यसपछि घरमा खान, लाउन नपुगेपछि हामी ३ दिदिबहिनी र ठुला दाई अर्काको घरमा काम गर्यौँ । हामी ३ बहिनीहरु अर्काको घरमा कमलरी बस्यौँ । दाई कमैया । ६।७ बर्ष लगातार अर्काको घरमा काम गरेपछी २०५७ सालमा कमैयाँ मुक्ति घोषणा भयो । त्यतिबेला अब अर्काको घरमा काम गर्नु पर्दैन, दुःख गर्नु पर्दैन भनेर हामी दिदिबहिनीलाई घर र्फकाइयो । तर हामीलाई मुक्त कमलरीको प्रमाण पत्र समेत दिएन । अहिले सरकारले कमलरी नभएकोलाई परिचय पत्र दिएर कमलरी बनाएको छ, तर हामी कमलरी भएकोलाई कुनै वास्ता छैन चैनी थारुले गुनासो पोखीन । उनी भन्छिन, माईत हुदाँ पनि दुःख थियो अहिले घरजम गर्दा पनि दुःख छँदैछ । उनी मनको बह पोख्छीन । अहिले पनि राम्रो खान, लाउन पाएका छैनौँ, ओत लाग्ने राम्रो घर छैन, बर्षभरी खाने गाँस छैन, उनी आफ्नो बिलौना सुनाईन । गरीवी र आर्थिक कमिकै कारण मुक्तकमैयाबाट पाएको ५ कठ्ठा जग्गा पनि बन्धकी राखेको कारण छोराले १० कक्षा पढ्दा पढ्दै ऋण तिर्ने भनेर भारत कमाउन गएको सुनाईन ।
अन्जना र समिर उदाहरण मात्रै हुन । उहाँहरु जस्तै अरु मुक्तकमैया र कमलरीहरुका कलिला छोराछोरीहरु उच्च शिक्षा लिन चाहेर पनि पढाईबाट बन्चित भैरहेका छन् । कमैया महिला जागरण समाज बर्दियाकोे तथ्याङक अनुसार बाँसगढी ४ मनिकापुर र सिम्रानी गाँउमा ७८ घरधुरी मुक्त कमैया छन् । आर्थिक बर्ष २०७९।०८० को तथ्याङक अनुसार यि दुई गाँउमा १६ जना मुक्त कमैयाका छोराछोरीहरु एस.ईई पास गरेका छन् । त्यसमध्ये ४ जनाले मात्रै प्लस टु र उच्च शिक्षा हाशिलगरीरहेका छन् । अरु बाँकी घरको आर्थिक कमी कै कारण पढाई छोडेर कोही बिदेश त कोही स्वदेशमै रोजगारी खोज्दै हिड्ने गरेका छन् ।

…………
२०५७ साल कमैया महिला जागरणले मुक्त कमैयाहरुको हकअधिकार सुनिश्चिताको लागि काम गर्दै आएको छ । नेपाल सरकारले मुक्त कमैयाहरुलाई खोलाको किनारमा, बाढी लाग्ने ठाँउमा, जंगली जनवार लाग्ने ठाँउमा जग्गा दिएको कारण आफ्नो समस्या अझै पनि उस्तै रहेको मुक्त कमैयाँहरुको गुुनासो छ । अशिक्षा र गरीवीको कारण थिचियका मुक्तकमैयाहरु कतै रोजगार पनि पाँउदैनन् । त्यसैले मुक्तकमैयाहरुको आर्थिक स्तर उकास्नको लागि बिभिन्न खाले सिपमूलक तथा आयमूलक तालिम दिने गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक रमेश चौधरीले बताए । संस्थाले शिक्षा क्षेत्रमा समेत उत्तिकै सहयोग गर्दै आएको छ । रमेशका अनुसार संस्थाले यो बर्ष बर्दियाका ७२० जना बिद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरेको छ । त्यस्तै सिटिइभिटिबाट कृषि प्राबिधिक र भेटनरी पढ्नको लागि प्रति ब्यक्तिलाई ६० हजारका दरले ८ जनालाई पढ्नमा सहयोग गरेको संस्थाका संयोजक चौधरीले बताए ।
मुक्त कमैयाका छोराछोरीलाई शिक्षामा पहुँच पुर्याउन स्थानीय सरकार लागि परेको स्थानीय सरकारका अधिकारीहरु बताउँछन् । बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले गरीव, बिपन्न, पिछाडिएको वर्ग, समुदायिका बालबालिकाहरुको मागलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको बताए । रेग्मीका अनुसार बाँसगढी नगरपालिकाले गत बर्ष ४ सय ५० जना बालिका बिद्यार्थीहरुलाई छात्रबृति दिएको थियो । जस्मा ११ । १२ मा पढ्ने प्रति बिद्यार्थीलाई ५ हजार का दरले ८ र ९ कक्षामा पढ्ने लाई १ हजार ८ सय र कक्षा १ देखि ७ कक्षा सम्म पढ्नेलाई १ हजार ५ सय रुपैँया छात्रबृति बितरण गरेको शिक्षा प्रमुख रेग्मीले जानकारी दिए । त्यसैगरी बाँसगढी नगरपालिकाले नगरभित्र रहेको बर्दिया बहुमुखी क्याम्पस र बाँसगढी बहुमुखी क्याम्पसलाई गरीव, बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने भनेर ५।५ लाख रुपैँयाका दरले दिदै आएको बताए । यतिमात्रै नभएर कमलरी र मुक्तकमैयाहरुका छोराछोरीलाई क्याम्पस पढ्नलाई सहजताको लागि पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत एक सिफ्टमा ४० दिनको २० हजार र दुई सिफटको ८० दिनको ४० हजार रुपैँया समेत मुक्त कमैया अथवा कमलरी परिवारका बिद्यार्थीहरुलाई प्रदान गर्दै आएको शिक्षा प्रमुख रेग्मीले बताए । त्यसको अलावा उच्च शिक्षामा बिज्ञापन अथवा प्राबिधि बिषय लिएर पढ्न खोज्ने लाई बिगत देखि नै नगर प्रमुख उच्च शिक्षा कार्यक्रम अन्र्तगत १ लाख बराबरको सहयोग गर्न सक्ने बाँसगढीका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले बताए ।
२०५७ सालमा नेपालमा कलङकको रुपमा रहेको कमैया प्रथालाई अन्त्य गरीसकेपछि ति कमैयाका छोराछोरीको रुपमा आफ्नो जिवन कस्टकर ब्यथित गरिरहेकालाई सहजिकरण गर्दै सहजता ल्याउने र राज्यको पहुँचमा पुर्याउन प्रतिवद्ध रहेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले बताए । उनले मुक्तकमैया, सुकुम्बासी र कमलरीहरुको समस्या नजिकबाट आँफु बुझेको तर माग असिमित भएको कारण आर्थिककमीले सबै कुरा पुरा गर्न नसकेको पनि स्वीकारे । आउने दिनमा जहाँ जसलाई जोड्न मिल्ने खालको हुन्छ त्यसरी नै जोडदै जाने नगर प्रमुख खड्काको भनाई छ ।
एकातिर सरकारले मुक्त कमैयाँ र मुक्त कम्लहरीहरुका लागि कार्यक्रम ल्याएको छ अर्कोतिर गैरसरकारी संस्थाहरुले पनि मुक्त कमैयाँ र मुक्त कम्लहरीहरुका लागि परियोजनाहरु संचालन गरीरहेका छन् । तर अन्जना र समिर जस्ता हजारौं युवाहरु सुख र खुशीको खोजीमा आफ्नो पढाइ, घर र देश छाडन बाध्यभैरह्ेका छन् । नेपाल सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउदै गर्दा भबिष्यका कणर्धार यि मुक्तकमैयाका छोराछोरीहरु भने आफ्नो परिवारको खाना, नाना र छानाको जोहो गर्न पढाइ छोडन बाध्य भएका छन् । त्यसैले पाखुरीमा बल र केही गरौं भन्ने हुटहुटी जागेका यि युवाहरुको शीप र क्षमता बृद्धी गर्नसके मात्रै सुखी नेपाली समृद्ध नेपाल बन्न सक्ने छ ।