सुनाखरीको सञ्चालक समिति अध्यक्षमा शर्मा चयन
Saturday, December 30th, 2023, 4:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुष
सुनाखरी रेष्टुरेन्ट प्रालिको नयाँ सञ्चालक समिति चयन भएको छ । प्रालिको छैठौं साधारण सभाले पवित्र प्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको सदस्यहरुमा डा. सगुन श्रेष्ठ, हर्कबहादुर बोहरा, महमुद अहमद सिद्दिकी, पुण्यप्रसाद भट्टराई, प्रदिप ज्ञवाली र घनश्याम शर्मा चयन भएका छन् । सभाले समितिका सदस्य घनश्याम शर्मालाई प्रबन्ध निर्देशक पदमा निरन्तरता दिएको छ ।
प्रालिका १४ जना सेयर सदस्य रहेका छन । तीन वर्षका लागि चुनिएको सञ्चालक समितिले रेष्टुरेन्टको स्तरबृद्धि, शाखा विस्तार लगायतको व्यवस्थापन कार्य गर्ने प्रबन्ध निर्देशक घनश्याम शर्माले बताए । रेष्टुरेन्टले यस वर्षदेखि सामाजिक उत्तरदायित्व लगायतको कार्य पनि शुरु गरेको छ ।
रेष्टुरेन्टले दुई जना किशोर किशोरीको होटेल म्यानेजमेन्ट पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार यो वर्षदेखि शुरु गरेको छ । सुनाखरी रेष्टुरेन्ट नेपालगन्ज उप-महानगरपालिका वडा नं. १२ मा रहेको छ ।
वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएको सेयर सदस्य प्रदिप शर्माले बताए ।
सुनाखरीले सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार यो वर्ष नेपालगन्ज १२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा भर्ना गरिएको छ । उनीहरुलाई कक्षा ९ देखि १२ सम्म पढाउने जिम्मा सुनाखरीले लिएको छ ।