मंगल प्रसाद र आइडियल सेकेन्डरी स्कुल विजयी
Saturday, December 30th, 2023, 7:17 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १४ पुष
मंगल प्रसाद उच्च मावि र आइडियल सेकेन्डरी स्कुलले शनिबार प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् । नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा मंगल प्रसादले फुल्टेक्रा माविलाई १ सय ५३ रनले हरायो । अर्को खेलमा आडियलले मोर्डन पब्लिक स्कुललाई १ विकेटले हराएको छ ।
शनिबार आफनो घरेलु मैदानमा सुरुआतमा ब्याटिङ गरेको मंगल प्रसादले २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय ९ रन बनाएको थियो । टोलीका लागि सुवास केवटले ४२ रन, साहिल शेखले ४१ रन र फरहान शेखले २८ रन बनाए । फुल्टेक्राका वलर बामदेव थापा, महेन्द्र हमाल र युवराज शाहीले १–१ विकेट लिएका थिए ।
२ सय १० रनको विजयी लक्ष्य पाएको फुल्टेक्रा ११.४ ओभरमा ५७ रन बनाएर अलआउट भएको थियो । फुल्टेक्राका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन । खेलमा म्यान अफ द म्याच घोषित भएका मंगल प्रसादका वलर अजय घसियाराले सर्वाधिक ४ विकेट लिए ।
उनले ३.४ ओभरमा ३१ रनमात्र खर्चेका थिए । अजाम खान र अबु सहानी शेखले २–२ विकेट लिए ।
अर्को खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मोर्डनले १९.१ ओभरमा १ सय ८ रन बनाएर अलआउट भएको थियो । मोर्डनका यतिन शर्माले ४० रन र हिमाल न्यौपानेले १२ रन बनाए । आइडियलका वलर समिर अन्सारीले सर्वाधिक विकेट लिने क्रममा ६ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चेर प्रभावशाली वलिङ गरेका थिए । आइडियलका मुबारक जोलाहले २ विकेट र आसिफ हुसेनले १ विकेट लिएका थिए ।
जवाफमा आइडियलले १६.१ ओभरमा ९ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । टोलीका लागि अनुराग बैश्यले ३५ रन र अर्सरत हुसेनले १७ रनको योगदान गरेका थिए ।
मोर्डनका वलर यतिन शर्मा र बाल सुन्दर भण्डारीले ३–३ विकेट लिए । खेलमा आइडियलका समिर अन्सारी म्यान अफ द म्याच घोषित भए । उनलाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाले पुरस्कृत गरेका थिए ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।
ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।