एनसार्कले मनायो ४०औं स्थापना दिवस
Sunday, December 31st, 2023, 5:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुष
एचआइभी एड्स क्षेत्रमा काम गदै आएको नेपालको सबै भन्दा पुरानो संस्था नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र(एनसार्क)ले ४०औं स्थापना दिवस तथा वार्षिकोत्सव मनाएको छ । आइतबार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ वसपार्क स्थित एनसार्कको कार्यालयमा भएको वार्षिकोत्सव समारोहमा संस्थाले हासिल गरेका उपलब्धी र उद्देश्यका बारेमा चर्चा गरिएको थियो ।
नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र(एनसार्क)का अध्यक्ष डा. जी राज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर कमरुद्दिन राई, भेरी अस्पताल नेपालगन्जका सुपरिटेण्डेन्ट डा. पवन जंग रायमाझी, भेरी अस्पतालका एचआइभी एड्स फोकल पर्सन डा. संकेत कुमार रिसाल लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । एनसार्कले आइतबार स्थापना दिवसको अवसरमा एचआइभी एड्सको रोकथामको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई सम्मान पनि गरेको थियो ।
कार्यक्रममा परिवर्तन समुह, एएचएफ नेपाल, भेरी एआरटी सेन्टर, नार्गाजुन विकास समुदाय, पश्चिम तारा नेपाल र जुनकिरी महिला समुह संस्थालाई सम्मान गरिएको थियो । परिवर्तन समुहका इन्द्रा कुमारी जिसी, एएचएफ नेपालका संजय कुमार पौडेल, भेरी एआरटी सेन्टरका डा. संकेत कुमार रिसाल, नार्गाजुन विकास समुदायका विर बहादुर पुन, पश्चिम तारा नेपालकी परिना चौधरी र जुनकिरी महिला समुहबाट रबिन्द्र सिंह राठौरले सम्मान ग्रहण गरेका थिए ।

………….
स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा एनसार्कको कार्यसमिति उपाध्यक्ष प्रिता झा र कर्मचारी मन्जु गुप्तालाई सम्मान गरिएको थियो ।