संस्थापक मेल्बिनको सम्झनामा साताव्यापी सामाजिक कार्य गर्दै लायन्स
Friday, January 5th, 2024, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० पुष
मानवीय सेवाको क्षेत्रमा अग्रणी संस्थाको परिचय बनाएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले संस्थापकको सम्झनामा विविध कार्यक्रम गर्ने तयारी गरेको छ । लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४५औं जन्मोत्सवको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया ४ का बाँके र बर्दियाका लायन्स क्लबहरुले संयुक्त रुपमा दुई जिल्लामा कार्यक्रम गर्ने तयारी गरेका छन् ।
लायन्सले काम गर्ने मुख्य ६ क्षेत्र क्यान्सर, भोकमरी, वातावरण, दृष्टि, युवा, मानवियता, फेलोसिप र अन्य सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर मेल्बिनको जन्मोत्सव मनाउने तयारी गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन को क्याभिनेट सेक्रेटरी उमा थापाले बताईन् ।
बाँके र बर्दियाका विभिन्न स्थानमा सामाजिक कार्य गर्ने तयारी गरिएको छ । शुक्रबार १ सय ४५औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक सरिता शाक्यले पत्रकार सम्मेलनमा साताव्यापी कार्यक्रमहरुको बारेमा जानकारी गराईन् ।
पुष २२ देखि २८ गते सम्म गरिब तथा विपन्न वर्गका जनतालाई सहयोग गर्ने कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । मेल्बिनको जन्मोत्सवको अवसरमा महिलाको क्यान्सर सम्बन्धी परिक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर,(आँखा, कान, घाटी, मधुमेह, दन्त, एचआइभी), खाद्यान्न वितरण, शैक्षिक सामाग्री वितरण, सर्जिकल र औषधी वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप लगायतका कार्यक्रम गर्ने तयारी भएको कार्यक्रम संयोजक सरिता शाक्यले बताईन् ।
बाँके र बर्दियाका विभिन्न लायन्स क्लबहरुको आयोजनामा विभिन्न ठाउँमा कार्यक्रम हुनेछन् । विश्वभर सामाजिक कार्यमा प्रेरणा प्रदान गर्ने संस्थापक मेल्बिन जोन्सको जन्मोत्सवलाई भव्य बनाउन सम्पुर्ण लायन्स सदस्य, नागरिक समाजलाई शाक्यले अनुरोध गरेकी छिन् ।
शुक्रबार भएको पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका डिस्ट्रिक गर्भनर मुकुट ढकाल, पुर्व गर्भनर श्याम राज शाक्य, मधुसुदन शर्मा, क्याभिनेट सेक्रेटरी उमा थापाले लायन्सले गरेको काम र योजनाहरुको बारेमा जानकारी गराएका थिए ।
लायन्स क्लब इन्टरनेशनल विश्वको सबै भन्दा ठुलो सामाजिक संस्था हो । सन् १९१७ सालमा मेल्बिन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढि सदस्यहरु रहेका छन् । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा क्रियाशिल छ । नेपालमा करिब ५० हजार सदस्यहरु रहेका छन् ।