कोहलपुर र राप्तीसोनारी सिकलसेलको उच्च जोखिममा
Friday, January 5th, 2024, 6:35 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० पुष
बाँके जिल्लाका थारु समुदायको बाहुल्यता भएका दुई वटा पालिका सिकलसेल रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार जिल्लाका थारु बाहुल्य कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका सिकलसेल रोगको उच्च जोखिममा छन् ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेलका बिरामीहरु कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा भेटिने क्रम बढ्दै गएको पाईएकोले ती दुबै पालिका उच्च जोखिममा रहेको बताए । उनले कोहलपुर नगरपालिकामा हालसम्म करिव १३ हजार जनाको सिकलसेल एनिमियाको रक्त नमूना परीक्षण गरिएकोमा सय जना भन्दा बढीमा सिकलसेल रोग भेटिएको बताए ।
सोही प्रकारले राप्तीसोनारी गाउँपालिकामा तीन हजार ३५० जनाको नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले बताए । उनले विगत केही समययता ती दुबै पालिकालाई प्राथमिकता दिएर थारु समुदायका नागरिकको रगत नमुना सङ्कलन र परीक्षण गर्ने अभियान सुरु गरिएको हुँदा दुबै पालिका जोखिममा रहेको पुष्टि भएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख पुणर् प्रसाद आचार्यले सिकलसेल पहिचानको अभियान चलाउँदा सय जना भन्दा बढी रोगी भेटिएपछि धेरैजना बिरामी अझैपनि हुन सक्ने भएकोले नियन्त्रण र पहिचान अभियाननै सञ्चालन गर्नुपर्ने देखिएको बताए । यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यो पालिका थारु बाहुल्य भएकोले यहाँ सिकलसेलको उच्च जोखिम रहेको कुरा हालसम्मकै परीक्षणबाट पुष्टि भएकोले यसलाई नियन्त्रण गर्न गम्भीर भएर लाग्ने बताए ।