पूर्ण बैठक अवसरमा सामाजिक कार्य गर्दै बाँके क्षेत्र नम्बर १
Saturday, January 6th, 2024, 7:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २१ पुष
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति बाँके क्षेत्र नम्बर १ को पूर्ण बैठक शनिबार राप्तीसोनारी गाउँपालिकाको भुवर भवानी भन्दिर परिसरमा सम्पन्न भएको छ ।
पूर्ण बैठकको अवसरमा सामाजिक कार्य पनि गरिएको छ । पूर्ण बैठकको अवसर पारेर आयोजक नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति बाँके क्षेत्र नम्बर १ ले भुवर भवानी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको थियो । सरसफाई पश्चात मन्दिर व्यवस्थापन समितिलाई सरसफाई सामाग्री हस्तान्त्रण गरिएको थियो ।
नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ कार्यसमितिको संजोजनमा पूर्ण बैठक सम्पन्न भएको थियो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति बाँके क्षेत्र नम्बर १ सभापति पोषण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले मन्त्व्य राखेका थिए । वैठकमा लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल सहभागि थिए ।
बैठकले क्षेत्रभर प्रशिक्षण कार्यक्रम चलाउने, क्रियाशील सदस्यता नवीकरणको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने लगायतका निर्णय गरेको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले बताए ।
पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गौडेलले पार्टीलाई तल्लो तहसम्म चलायमान बनाउन सम्पूर्ण पार्टी संयन्त्रलाई क्रियाशील हुन निर्देशन दिए । पार्टीको निर्णयलाई अक्षरशः पालना गर्दै संगठन निर्माण र जनविश्वास आर्जनमा गम्भीरताका साथ लाग्न पार्टी कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी निर्णय नमान्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्ने नीति बाँके कांग्रेसले लिएको भन्दै पार्टीका निर्देशन अबज्ञा गर्ने छुट नभएको स्पष्ट पारे ।
पार्टी निर्णय विपरीतका क्रियाकलाप गर्नेहरुलाई हामी तत्काल कारबाही गर्छौं,ू पछिल्ला केही कारबाहीका घटना स्मरण गराउँदै उनले भने, ‘पार्टीमा अराजकता र अनुशासनहिनता स्विकार्य छैन । हामी त्यसमा प्रष्ट छौं ।’
क्षेत्रीय सभापति केसीले स्वतन्त्रताका नाममा पार्टीमा स्वच्छन्दता बढ्दै गएको भन्दै पार्टी हित विपरीत क्रियाकलाप गर्ने छुट कसैलाई नभएको बताए । केसीले पार्टीका कार्यकर्ताहरुमा उत्साह थप्न मोबाइल मिटिंग गर्ने नीति अनुरुप ठाउँ ठाउँमा सामाजिक सेवाका कार्यक्रमहरु सहितको बैठक आयोजना गरिरहेको बताए ।
बैठकमा पार्टीका जिल्ला उपसभापति कृष्णबहादुर कार्की, सचिव एवम प्रदेश सांसद सन्जु चौधरी, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, राप्तीसोनारी गाउँपालिकाका निर्वतमान अध्यक्ष लाहुराम थारु, क्षेत्र नम्बर १ बाट निर्वाचित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत उपस्थित थिए ।
यसैबीच बैठक पश्चात मन्दिर परिसरमा सरसफाई समेत गरिएको छ । उपस्थित नेता कार्यकर्ताले मन्दिर क्षेत्रको सरसफाई गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले मन्दिर व्यवस्थापन समितिलाई ८ वटा डस्टबिन समेत उपलब्ध गराएको क्षेत्रीय सचिव बस्नेतले जानकारी दिए ।

…………..