नेपालगन्जस्थित नेपाल-भारत सीमा क्षेत्र सौन्दर्यकरण
Monday, January 8th, 2024, 7:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ पुष
नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगन्ज उप-महानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो । नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवाहरु रोपिएको छ ।
आज एक समारोहका बीच नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले संयुक्तरूपमा नेपाल भारत प्रवेशद्वारमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका थिए । देशमै पहिलोपटक नेपालगन्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यकरण कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार शाहीले बताए ।
जमुनाहा नाकामा सोमबार आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले एउटा देशबाट अर्को देशमा प्रवेश गर्ने ठाउँलाई सौन्दर्यकरण गरेर सुखद सन्देश प्रवाह गर्ने अभियानमा नेपालगन्ज उप-महानगरपालिकाले सहकार्य गरेको बताउँदै मुलुकको पहिचान झल्काउने राष्ट्रिय झण्डाले आत्मसम्मानलाई अझ बलियो बनाउने उल्लेख गरे । सशस्त्र प्रहरी बलसंग आगामी दिनमा पनि यस्तै अभियानहरुमा सहकार्य गरेर जाने नगर प्रमुख विष्टको भनाई छ ।

………….
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सौन्दर्यकरण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको बताउँदै सहकार्यका लागि नेपालगन्ज उप-महानगरपालिकाप्रति कृतज्ञता व्यक्त गरे । उनले नेपालगन्ज नाकाबाट यसको सुरुवात भएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले सीमा क्षेत्रमा सौन्दर्यकरण गरेर उत्कृष्ट कार्यको थालनी भएको बताए ।
कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा लगायको उपस्थिति थियो ।
यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा जमुनाहा नाकामा शुद्ध खानेपानी सेवाको आरम्भ गरिएको छ । बाहिनीपति खत्रीले शुद्ध खानेपानी सेवाको शुभारम्भ गरेका थिए । नाका भएर आवतजावत गर्ने व्यक्तिहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीको सेवा आरम्भ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए ।