नेपालगन्ज उप-महानगरपालिकाद्धारा अवैध इ-रिक्सा नष्ट गर्न सुरु
Tuesday, January 9th, 2024, 7:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ पुष
नेपालगन्ज उप-महानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगन्ज उप-महानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ-रिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इ-रिक्सा नियन्त्रण अभियान थालेको नेपालगन्ज उप-महानगरपालिकाले आज ५ वटा इ-रिक्सा नष्ट गरेको छ ।
आवश्यक कागजात नभएका ती इ-रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको इ-रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले इ-रिक्सा धनी/चालककै अगाडि कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गर्नुभएको थियो ।
नेपालगन्ज उप-महानगरपालिकाले इ-रिक्सा नियन्त्रण गर्नुअघि पटक-पटक प्रक्रिया पुर्याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ-रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध इ-रिक्सा गुड्न पूणर्रूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगन्ज उपमहानगरपालिका दृढ भएर लागेको बताउनुभयो ।
ॅहामीले पटक-पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै इ-रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध इ-रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं,’ नगर प्रमुख विष्टले भन्नुभयो-ॅअब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।’
नेपालगन्ज उप-महानगरपालिकाले हालसम्म ६२३ इ-रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पुर्याएपछि ५३८ इ-रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ-रिक्सा नियन्त्रणमै छन् । ती इ-रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।