मंगल प्रसादले जित्यो किशोर सिंह राठौर यु–१६ क्रिकेट उपाधि
Wednesday, January 10th, 2024, 6:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुष १७ गते
मंगल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मंगल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।
बुधबार टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । टोलीका लागि सुमित विष्टले २४ रन, विवेक पुन मगरले १५ रन र रोजिन पुन मगरले १३ रन बनाए ।
मंगलका अजय केवट र समिर कसगरले २–२ विकेट लिए । फरहान खानले १ विकेट प्राप्त गरे । १ सय १८ रनको विजयी लक्ष्य मंगल प्रसादले १७ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरेको थियो । प्लेयर अफ द फाइनल फरहान शेखले २९ रन, अबु सहिमाले २० रन र अजय केवटले ११ रनको योगदान गरे । नेपालगन्ज मोडेलका सुमित विष्टले २ विकेट, निश्चल पुन र रियाजुद्धिन खानले १–१ विकेट लिए ।
प्रतियोगितामा आइडियल पब्लिक स्कुलका समिर अन्सारी प्लेयर अफ द टुर्नामेन्ट र उत्कृष्ट बलर घोषित भए । मंगल प्रसाद उच्च माविका साहिल शेख उत्कृष्ट ब्याटसम्यान, मंगलकै अब सहमा शेख उत्कृष्ट फिल्डरको रुपमा पुरस्कृत भए ।
विजयी खेलाडीलाई नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौंर, लुम्बिनी प्रदेश सभासद माया पुन, सन्जु चौधरी, मिना सिद्धिकी, सुशिला नेपाली, पुर्व सभासद याकुब अन्सारी, जानकी गाउँपालिका अध्यक्ष जब्बन खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाह, आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाही लगायतले पुरस्कृत गर्नु भएको थियो ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ विद्यालयको टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेकाथिए ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक थिए ।
विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले नगद पुरस्कार पाए ।