२५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन हुँदै
Wednesday, January 10th, 2024, 8:03 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २५ पुष
नेपालगन्जमा २५ वर्ष पछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी माघ ११ देखि १३ गते सम्म नेपालगन्ज स्थित कर्भड हलमा हुनेछ । नेपालगन्जमा २०५५ सालमा २५औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता नेपालगन्जमा राष्ट्रिय स्तरको प्रतियोगिता भएको छैन ।
बुधबार आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको छ । बाँके जिल्ला ब्याडमिनटन संघका अध्यक्ष सन्जय थापाले नेपालगन्जको गौरव र प्रतिष्ठासँग प्रतियोगिता जोडिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘बाँकेमा राष्ट्रिय स्तरको ब्याडमिन्टन भएको २५ वर्ष भयो । प्रतियोगिता नहुँदा यहाँका खेलाडीहरुले राम्रा अवसरहरु गुमाएका छन् । युवा खेलाडीहरुमा निरासा छाइरहेको बेला हामीले यो प्रतियोगिताको सुरुआत गरिरहेका छौं । यसले नेपालगन्जको सकारात्मक पहिचान दिलाउने विश्वास लिएका छौं ।’
बाँके जिल्ला ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष मिन मल्लले प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीहरुको सहभागिता रहने जानकारी गराउनु भयो । जसमा स्थानीय ५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, भेट्रान(४५ वर्षभन्दा माथि) र मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा समावेश गरिएको मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट अन्य भन्दा केहि फरक भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले बताउनु भयो । जुन इभेन्टमा संघले आयोजना गरेको राष्ट्रिय र प्रदेश स्तरको प्रतियोगिता खेलेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन । नयाँ खेलाडीलाई अवसर प्रदान गर्नको लागि यो इभेन्ट्स समावेश गरिएको आयोजकले बताएको छ ।
प्रतियोगितामा पुरुष एकल विधाको विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समान हरुपमा १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष डबल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समान १५ हजार रुपैया, महिला एकल तर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०-१० हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
पुरुष डबल्स ‘बी’ लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०-१० हजार, भेट्रान्स तर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०-१० हजार पुरस्कार पाउनेछन् ।
पत्रकार सम्मेलनमा उपस्थित भएका पुर्व राष्ट्रिय च्याम्पियन एवम् प्रशिक्षक अनिल लाखेले बाँकेमा फेरी राष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन हुने अभियान सुरु भएको बताए । उनले भने,‘हामी फेरी पुरानो साखलाई निरन्तरता दिने प्रयास गरिरहेका छौं । यो प्रतियोगिताले त्यो अभियानमा महत्वपुणर् सहयोग गर्नेछ ।’
विगतमा बाँके जिल्लाका खेलाडीले ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आएका थिए । हालसम्म बाँकेबाट १८ पुरुष र ४ महिला खेलाडीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । अनुमानित ३१ लाख बजेट रहेको प्रतियोगिता आयोजनामा लुम्बिनी प्रदेश सरकारले सहयोग गरिरहेको छ । अन्य अपुग रकम स्थानीय संघ संस्था र व्यवसायिक प्रतिष्ठानले सहयोग गर्ने अध्यक्ष थापाले बताउनु भयो ।