ई-रिक्सा चालकको मर्म बुझेर काम गर्छौः मेयर विष्ट
Wednesday, January 10th, 2024, 8:34 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, २५ पुष
नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्टले ई-रिक्सा व्यवस्थापनको योजनालाई कानुनी रुपमा अगाडी बढाउने बताउनु भएको छ । कागजात बिनाको ई-रिक्सालाई उप-महानगरपालिकाले डोजर लगाएर नष्ट गर्ने कार्य सुरु गरेपछि स्थानीय स्तरमा आलोचन सुरु भएको थियो । जसका कारण ई-रिक्सा चालकहरुले बुधबार नेपालगन्ज उप-महानगरपालिका अगाडी बिरोध प्रदर्शन गरेका थिए ।
सोहि विषयमा आएको विवादका बारेमा आफनो धारणा सार्वजनिक गर्दै मेयर विष्टले प्रक्रियामा केहि त्रृटि भएपनि आफुहरु इ-रिक्सा व्यवस्थापनमा इमानदारिताका साथ लागिरहेको बताउनु भयो । ई-रिक्सा चालकको समस्या र मर्मलाई बुझेर उप-महानगरपालिकाले काम गर्ने प्रतिवद्धता जनाउँदै मेयर विष्टले कानुन विपरित चलेको ई-रिक्सालाई भने नियन्त्रण गर्ने बताउनु भयो ।
नगरपालिका, यातायातमा दर्ता नभएका ई-रिक्सालाई नगरभित्र चल्ने नदिने बताउँदै मेयर विष्टले ई-रिक्सा चालक र धनिहरुको लागि आर्थिक रुपमा सहयोग गर्ने अन्य कार्यक्रम ल्याउने बताउनु भयो । उहाँले भन्नु भयो,‘कानुन भन्दा कोहि पनि माथी छैन । उहाँहरु(इ-रिक्सा चालकहरु) चालक अनुमति पत्र पनि लिन तयार हुनु हुन्न । नगरपालिका र यातायातमा सुचिकृत पनि हुन मान्नु हुन्न । हामीले पटक पटक यस विषयमा उहाँहरुलाई जानकारी गराएका छौं । बरु हामी नगरपालिकामा सुचिकृत हुन लाग्ने शुल्क घटाउन तयार छौं । कानुन अनुसार दर्ता हुनुपर्छ ।’
नेपालगन्जमा पछिल्लो समय ई-रिक्साको संख्या बढिरहेको छ । अधिकांश ई-रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा ज्ञान छैन । जसका कारण पनि दुर्घटना बढने क्रममा छ । नगरपालिका र यातायात कार्यालयमा ई-रिक्सा दर्ता नभएका कारण नेपालगन्जमा कति ई-रिक्सा छन भन्ने यकिन तथ्याङ पनि छैन । अत्याधिक रुपमा बढिरहेको ई-रिक्सालाई व्यवस्थापन गर्न नसक्दा नेपालगन्जमा दुर्घटनाका संख्या पनि बढिरहेका छन् ।
प्रक्रिया नपुगेका ई-रिक्सालाई नेपालगन्ज उप-महानगरपालिकाले मंसिर १९ गते देखि नियन्त्रणमा लिन सुरु गरेको थियो । हाल सम्म ६ सय ३१ वटा ई-रिक्सा नियन्त्रण लिएर प्रक्रिया पुगेका ५ सय ५५ वटालाई छोडेको थियो । अझै ७६ वटा ई-रिक्सा उप-महानगरपालिकाको नियन्त्रणमा छन् । ति मध्ये केहि अवैध छन् । चेसिज नम्बर नभएका, वेल्डिङ, गरेको, भन्सारको कागजात नभएका, बिलबिजक नभएका ई-रिक्सालाई नगरभित्र चल्ने नदिने नेपालगन्ज उप-महानगरपालिकाले बताएको छ ।