विद्यार्थीलाई ‘सहकारी’ पढाउँदै नेपालगन्ज उप–महानगरपालिका
Thursday, January 11th, 2024, 6:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुष
नेपालगन्ज उप–महानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । सहकारीका विषयमा विद्यालयस्तरका बालबालिकालाई जानकारी गराउँदै सहकारी अभियानलाई प्रभावकारी बनाउन नेपालगन्ज उप–महानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको सहकारी शाखा प्रमुख प्रविन रानाले बताउनुभयो ।
गत बर्ष चार वटा विद्यालयमा पुगेर माध्यमिक तहका विद्यार्थीलाई सहकारीबारे सिकाएको सहकारी शाखाले यसपटक नगरका १६ वटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई एकै ठाउँमा राखेर सहकारी अवधारणाबारे बोध गराएको रानाले जानकारी दिनुभयो । नेपालगन्ज उप–महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहकारीको अवधारणाबारे बोध गराउने उद्देश्यले विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्र धमला र नेपालगन्ज उप–महानगरपालिकाका सहकारी शाखा प्रमुख रानाले विद्यार्थीलाई प्रशिक्षित गर्नुभएको थियो । समाजमा सहकारी अभियानबारे बढ्दो अविश्वास र नकारात्मक धारणालाई चिर्दै समाजमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सहकारी धारणाबारे बोध गराउन खोजेको रानाले बताउनुभयो ।
समापन कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले सहकारीको महत्वबोध गराउन कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सरकारले आर्थिक राष्ट्रको आर्थिक विकासका तीन खम्बा मध्येको एक खम्बाका रुपमा सहकारीलाई स्वीकारिसकेको बताउँदै उहाँले सहकारी अभियानलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । नीति नियम र कानुन बमोजिम सहकारी चल्नुपर्नेमा जोड दिँदै पुनले केही स्वार्थ समूहका कारण सहकारीमाथि आशंका देखिएको बताउनुभयो ।
समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता रेग्मी, सहकारी शाखाकी तुलसा पन्थी आचार्य लगायत उपस्थित हुनुहुन्थ्यो । त्यस क्रममा सहभागीका तर्फबाट शेरबहादुर चलाउने, झक्क भण्डारीले सहकारीबारे आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो ।