महिला उद्यमका क्षेत्रमा नयाँ सम्भावना खोज्ने प्रयास
Thursday, January 11th, 2024, 7:41 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २६ पुष
लुम्बिनी प्रदेश सभासद सन्जु चौधरीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न प्रदेश सरकारले केहि नमुना परिक्षण गरिरहेको बताउनु भएको छ । देशको आर्थिक उन्नतीमा स-साना उद्योग र व्यवसायको महत्वपुणर् भुमिका हुने भएकोले स्थानीय उद्योग प्रवद्र्धनमा प्रदेश सरकारले विशेष चासो दिइरहेको उहाँले बताउनु भयो ।
बिहिबार नेपालगन्जमा भएको ‘महिला उद्यमीहरुको समस्या, चुनौति र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा महिला उद्यमीको क्षेत्रमा नयाँ सम्भावनको खोजी गर्ने प्रयास गरिएको थियो । महिला उद्यमी संघ नेपालले पहिलो पटक आयोजना गरेको अन्तरक्रियामा महिला उद्यमीका क्षेत्रमा देखिएका समस्या र सफलता हासिल गर्न आवश्यक कुराहरुको बारेमा कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।
अन्तरक्रियामा बोल्दैं सभासद चौधरीले भन्नु भयो,‘लुम्बिनी प्रदेशमा थारु र मगर जाति धेरै हुनुहुन्छ । यो समुदायमा पुजा पाठ र धार्मिक कार्यमा घरेलु मदिरा अनिवार्य छ । तर हामीले घरेलु मदिरालाई नष्ट गरिरहेका छौं । यो हाम्रोे संस्कृतिसँग जोडिएको कुरा हो । घरेलु मदिरालाई सहि ढंगले कसरी उत्पादन गर्न सकिन्छ भनेर बाँकेको बैजनाथ गाउँपालिकामा परिक्षण गरिरहेका छौं ।’
नितिगत रुपमा महिला उद्यमीहरुको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने प्रश्नमा सभासद चौधरीले राज्यले बनाएका निति र सुविधालाई प्राप्त गर्न महिलाहरुले झन्झट मान्न नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘राज्यले एउटा मापदण्ड बनाएको हुन्छ । त्यसमा कसरी पर्ने भन्ने कुराको महिला उद्यमीहरुलाई जानकारी हुनु पर्छ । सुविधा लिन झन्झट मान्नु हुन्न । महिला उद्यमीहरुको अधिकार प्राप्त गर्नको लागि आम नागरिक स्तरमा बहस र छलफल हुनु पर्छ ।’
नेपालगन्जमा भैरहेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको अवसरमा भएको अन्तरक्रियामा महिला उद्यमको क्षेत्रमा काम गरिरहेको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतको अध्यक्षतामा भएको अन्तरक्रियामा अर्थशास्त्री महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेश केशर खनाल, महिला उद्यमी महासंघ नेपालको कार्यकारी सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, सफल व्यवसायी चित्रकला बुढामगरले आफनो अनुभव सुनाउनु भएको थियो ।
महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु शाह चन्दले संचालन गरेको कार्यक्रममा महिला उद्यमीहरुले भोगिरहेका समस्या, बजारीकरणमा देखिएका समस्या र नयाँ सम्भावनाको बारेमा छलफल गरिएको थियो । महिला उद्यमी महासंघ नेपालको कार्यकारी सदस्य शर्माले महिला उद्यमीहरुले आफनो क्षमताको विकास गर्नको लागि नयाँ प्रविधि र प्राविधिक पक्षमा ध्यान दिनु पर्ने बताउनु भयो । महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण, प्रवद्र्धन गर्दै प्रोत्साहित गर्ने काममा महासंघले दुई दशकदेखि काम गरिरहेको उहाँले भनाई राख्नु भयो ।
डा. खनालले महिला उद्यमीहरुले आफनो उद्यममा सफलता प्राप्त गर्न आफनो उद्यमलाई माया गरेर निरन्तर मिहिनेत गर्नु पर्ने सुझाव दिनु भयो । महिला उद्यमीले राज्यले बनाएको कर निति, आर्थिक निति जस्ता कुराहरु बुझने प्रयास गर्नु पर्ने डा. खनालले सुझाव दिनु भयो । उहाँले भन्नु भयो, ‘उद्यम गर्ने महिलालाई कर बारे जानकारी हुनैं पर्छ । यस्ता निति परिवर्तन भैरहन्छ । यसका बारेमा सबैले जानकारी राख्नु पर्छ । यसले व्यवसायिक सफलतामा धेरै अर्थ राख्छ ।’
नेपालमा अल्लो उद्योगबाट सफलता हासिल गरेकी चित्रकला बुढामगरले स्थानीय स्तरमा महिला उद्यमीहरुलाई आफनो व्यवसायिक क्षेत्रको बारेमा जानकारी गराउने अन्तरक्रियाहरु आवश्यक रहेको बताउनु भयो । आफनो व्यवसायमा सफलता हासिल गर्न घर परिवारसँग सम्बन्ध राम्रो हुनु पर्ने बताउँदै उहाँले भन्नु भयो, ‘राज्यले महिला उद्यमीको स्तर हेरेर करमा सहुलियत दिनु पर्छ । मलाई १ करोड ऋण आवश्यक छ । कसैलाई १ लाख चाहिएको होला । आवश्कता अनुसार सस्तो ब्याजदरमा ऋण सुविधा पाए महिला उद्यमीलाई धेरै सहयोग हुन्छ ।’
……………
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले महिला उद्यमीहरुले आफनो उत्पादनको स्तर बढाउँदैं अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सोच राख्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले महिला उद्यमीहरुले धेरै समस्या भोगिरहनु भएको छ । कोभिड-१९ पछि व्यवसायमा धेरै समस्या आएको छ । व्यवसाय गर्दा लिएको ऋणको चर्को ब्याज तिर्नु परेको छ । यसमा राज्यले सहयोग गर्नु पर्छ ।’
महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण, प्रवद्र्धन र संरक्षण गर्नको लागि राज्यको सहयोग महत्वपुणर् हुने उहाँले बताउनु भयो ।
………….
………………