जाजरकोटका भुकम्प प्रभावित महिलालाई ५३ लाखको राहत सामाग्री सहयोग
Friday, January 12th, 2024, 7:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुष
जाजरकोटमा गएको बिनासकारी भुकम्पबाट प्रभावित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलाहरुलाई सांसद डा. आरजु राणा देउवाले ‘डिग्नीटी किट’( महिलाहरुलाई स्वस्थ रहन आवश्यक पर्ने सामाग्री), पौष्टिक तथा पोषिलो आहार सहितको झोला सहयोग गर्नु भएको छ ।
शुक्रबार नेपालगन्जमा नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहनु भएको डा. आरजु राणा देउवाले ५३ लाख रुपैयाँ बराबरको उक्त सामाग्री नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई हस्तान्त्रण गर्नु भएको हो ।
हस्तान्त्ररण गरिएको सामाग्री लिएर नेपाल तरुण दल टोली प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेको छ । डा. आरजुले सुत्केरीहरुका लागि ५ हजार ८ सय रुपैयाँ बराबरको ५ सय थान र ४ हजार ८ सय बराबरको ५ सय थान सामाग्रीको झोला अध्यक्ष गुरुङलाई हस्तान्त्रण गर्नु भएको थियो ।
१८ प्रकारको सामग्री भएको किटको संख्या ५ सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या ५ सय थान छ । वितरण गरिने सामग्रीहरुमा ज्याकेट तथा टाउजर, उलनको मोजा, स्यानेटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, टुथ ब्रस, टुथ पेष्ट, नेल कटर, काइँयो, सरफ, सेम्फु, नुहाउने साबुन, लुगा धुने साबुन र पोषणयुक्त खानेकुरा छन् ।
सांसद डा. देउबाको सचिवालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौं, सुरक्षित मातृत्व सञ्जाल महासंघ काठमाण्डौ, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य फुड इण्डष्ट्रीज मोरङ र हिमालयन रि इन्स्योरेन्स प्रालि काठमाण्डौको सहयोगमा उक्त सामाग्री हस्तान्त्रण गरिएको हो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा डा. देउबाले विपदका बेला सक्दो सहयोग गर्नुपर्दछ भन्ने मनसायका साथ राहत सामग्री सहयोग गरेको बताउनु भयो ।
गर्भवती, सुत्केरी र सीमान्तकृत महिलाहरुलाई चिसोमा झनै समस्या भइरहेको भन्ने सुनेर उनीहरुको सहजताका लागि राहत पठाउन लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो धेरै ठुलो काम होइन । मैले नागरिकको दायित्व पुरा गरेको हुँ । कसैलाई समस्या पर्दा हामीले सक्दो सहयोग गर्नु पर्छ । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी महिलालाई धेरै गाह्रो भएको छ भन्ने थाहा पाएर यो सहयोग गरिएको हो ।’
अब छिटै पश्चिम रुकुममा पनि सहयोग सामाग्री पठाउने तयारी गरिएको उहाँले बताउनु भयो । जाजरकोटका महिलालाई सहयोग गर्ने कार्यमा नेपाल तरुण दलले सहयोग गरेको बताउँदै प्रभावित व्यक्ति सम्म पुग्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘यो नितान्त सामाजिक सेवा हो । यसमा राजनिति छैन । जसलाई समस्या परेको छ । त्यसलाई दिइनेछ । यो पहिलो कदम हो । अझ धेरै सहयोग गर्न बाँकी छ । ’
तरुण दलका अध्यक्ष गुरुङले यी राहत सामग्री यथाशक्य चाँडो लक्षित बर्गसम्म पु¥र्याउने बताउनु भयो । तरुण दलले जाजरकोटमा भूकम्प प्रभावितका लागि ७२ वटा टहरा बनाएको उहाँले जानकारी दिनु भयो ।
शुक्रबार भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका उद्योग मन्त्री रोज राणा, लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, मिना सिद्दिकी लगायत उपस्थिती रहेको थियो ।

……………