नेपालगन्जमा १४औं बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो सुरु
Friday, January 12th, 2024, 8:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुष
नेपालगन्जमा १४औं बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोडेल तेक्वान्दो एकेडेमी बाँकेमा नेपालगन्ज रंगशालामा भएको दुइ दिने प्रतियोगितामा ३ सय ६० जना खेलाडीको सहभागिता रहेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता ‘सिके’ले प्रतियोगिताको उद्घाटन गर्नु भयो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुप्ताले लुम्बिनी प्रदेशमा खेलकुदको विकासमा आफुहरुले सक्दो नयाँ काम गर्ने प्रयास गरेको बताउनु भयो ।
आयोजक मोडेल तेक्वान्दो एकेडेमी बाँकेका अध्यक्ष होम बहादुर सुनारको अध्यक्षतामा भएको उद्घाटन समारोहमा साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, लुम्बिनी प्रदेश आइटिएफ तेक्वान्दोका पुर्व अध्यक्ष एवम् केन्द्रिय सदस्य विरेन्द्र बहादुर शाह, लुम्बिनी प्रदेश आइटिएफ संघका उपाध्यक्ष गिता क्षेत्री, लुम्बिनी प्रदेश डिभिजन विकास कार्यालय बाँके–बर्दिया कार्यालय प्रमुख गिरिराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।
बाँके जिल्लामा नयाँ तेक्वान्दो खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १३ डोजाङहरुको सहभागिता रहेको छ ।
आयोजक मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख एवम् प्रतियोगिता संयोजक होम बहादुर सुनारले बाँकेलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो ।
खेलको माध्यमबाट एकताको भावना सिर्जना गदै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकास गर्नमा पनि प्रतियोगिताले सहयोग गर्ने नेपाल आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेश अध्यक्ष समेत रहनु भएका सुनारले बताउनु भयो ।
प्रतियोगितामा एकल प्याटन महिला र पुरुष, महिला र पुरुषको एकल स्पाइरिङ, पुरुष २० देखि ६५ केजी तौल समुह र महिला तर्फ २० देखि ६० केजि तौल समुह समावेश गरिएको छ । शनिबार सम्पन्न हुने प्रतियोगिताको विजेता टिम, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित टिमलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले बताएको छ ।
………….
…………