सकियो लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
Saturday, January 13th, 2024, 6:58 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, पुष २४
समापनमा कुनै औपचारिक कार्यक्रम नगरेर आठौ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको पुर्व अध्यक्ष कुसुम बस्नेतको बस दुर्घटनामा मृत्यु भएपछि आयोजकले कुनै पनि औपचारिक कार्यक्रम गरेन् ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले प्रदर्शनीको दौरान पुर्व अध्यक्षको मृत्युको खबरले आम महिला उद्यमीहरु मर्माहित भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘महिला उद्यमीलाई प्रोत्साहन गर्ने, हक अधिकारलाई स्थापित गराउने अभियानमा उहाँको महत्वपुर्ण योगदान छ । उहाँको मृत्युको खबर आम महिला उद्यमीहरुका लागि अतुलनीय क्षति हो । त्यसैले हामीले समापनमा कुनै पनि कार्यक्रम गरेनौं ।’
महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण, प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी गर्दै आएको छ । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा पुष २४ गते देखि सुरु भएको प्रदर्शनीमा सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले आफनो स्टल राखेका थिए ।
प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा रहेका थिए ।
नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा प्रदर्शनी भएको थियो । प्रदर्शनीमा ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका थिए ।
प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने, निःशुल्क सुगर र ब्लड प्रेसरको परिक्षण, महिलाहरुको पाठेघरमा हुने क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो । यसैगरी प्रदर्शनीका दौरान महिला उद्यमीहरुको समस्या, चुनौति र सम्भावना बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । प्रदर्शनीको दौरान ३ सय २औं पृथ्वी जयन्त पनि मनाइएको थियो ।