गौघाट डोजाङले जित्यो तेक्वान्दोमा टिम च्याम्पियन उपाधि
Sunday, January 14th, 2024, 11:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ पुष
गौघाट डोजाङ नेपालगन्जमा १४औं बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता टिम च्याम्पियन भएको छ । मोडेल तेक्वान्दो एकेडेमी बाँकेले नेपालगन्ज रंगशालामा आयोजना गरेको प्रतियोगितामा गौघाट डोजाङका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा कारकादो डोजाङ दोस्रो र आश्रय डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा पुरुष तर्फ दुर्गेस यादव र महिला तर्फ राईका चौधरी उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनु भयो । अनुशासित टिमको पुरस्कार मोडेल आइटीएफ तेक्वोन्दो एकेडेमीले पाएको छ ।
विजयी खेलाडीहरुलाई ओलम्पियन तथा लुम्बिनी प्रदेशका पुर्व वन मन्त्री सुरेन्द्र हमाल, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष भीम ओली लगायले पुरस्कृत गर्नु भएको थियो ।
दुइ दिन सम्म चलेको प्रतियोगितामा ३ सय ६० जना खेलाडीको सहभागिता रहेको थियो । गत शुक्रबार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता ‘सिके’ले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
आयोजक मोडेल तेक्वान्दो एकेडेमी बाँकेका अध्यक्ष होम बहादुर सुनारले प्रतियोगिताले जिल्लामा नयाँ खेलाडीलाई आफनो क्षमता देखाउन अवसर प्रदान गरेको बताउनु भयो ।
बाँके जिल्लामा नयाँ तेक्वान्दो खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १३ डोजाङहरुको सहभागिता रहेको थियो ।
आयोजक मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख एवम् प्रतियोगिता संयोजक होम बहादुर सुनारले बाँकेलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो ।
……….
खेलको माध्यमबाट एकताको भावना सिर्जना गदै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकास गर्नमा पनि प्रतियोगिताले सहयोग गर्ने नेपाल आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेश अध्यक्ष समेत रहनु भएका सुनारले बताउनु भयो ।
प्रतियोगितामा एकल प्याटन महिला र पुरुष, महिला र पुरुषको एकल स्पाइरिङ, पुरुष २० देखि ६५ केजी तौल समुह र महिला तर्फ २० देखि ६० केजि तौल समुह समावेश गरिएको थियो ।
……..