नेपालगन्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने
Monday, January 22nd, 2024, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ माघ
नेपालगन्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएको छ ।
निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज-१८ बाँकेले ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले चासो र खबरदारी गर्नुपर्ने बताउनुभयो ।
विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिका पर्यत्नशील रहेको सन्देश यो सडकले दिने बताउनुभयो । नगर उपप्रमुख कमरुद्दिन राईले निर्वाचनका बेला स्थानीयसमक्ष गरिएको प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताउनुभयो ।
………….
संघीय सशर्त अनुदान र नेपालगन्ज उप-महानगरपालिकाको लागतमा बन्न लागेको वडा नम्बर ४ बसपार्क र वडा नम्बर १९ सुर्जीजाउँलाई जोड्ने यो सडक असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि चैतभित्रै निर्माण सकिने नेपालगन्ज उप-महानगरपालिकाका इन्जिनियर चन्दन राज दासले बताउनुभयो ।
उक्त सडक ८ मिटर चौडा र ८१७ मिटर लामो रहेको दासले जानकारी दिनभयो । त्यसक्रममा टोलबासीका तर्फबाट टोल विकास संस्थाले नगर प्रमुख विष्ट, उपप्रमुख राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, इन्जिनियर दास, निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाइदिएर धन्यबाद ज्ञापन गरेको थियो । सडक पीच बन्ने भएपछि स्थानीय खुसी छन् ।