ज्ञानोदय, योगिनी र जनता मावि बठवा प्रथम
Wednesday, January 24th, 2024, 7:16 pm
Kalpristha
खजुरा पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद
सौरभ राना
खजुरा, १० माघ
ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता मावि बठवाले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् ।
प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८ रजत र ४ कास्य सहित प्रथम हुँदा जनता मावि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ । जनताले ६ स्वर्ण पदक, ९ रजत र ९ कास्य जित्यो ।
…………….
जनसेवाले ६ स्वर्ण, १ रजत र ६ कास्य हासिल गरेको थियो । माघ ७ देखि सुरु भएको प्रतियोगिताको निम्न माध्यमिक तहमा प्रथम भएको योगिनी माविले ३ स्वर्ण, दोस्रो भएको जनता मावि सन्तकुटीले २ स्वर्ण ३ रजत र १ कास्य तथा तेस्रो हुने जनता मावि बठवाले २ स्वर्ण पदक जितेको छैटौं मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को संयोजक माधव शर्माले बताउनु भयो ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भएको प्रतियोगिता अन्तर्गत प्रावि तहमा प्रथम स्थान हासिल गरेको जनता मावि बठवाले २ स्वर्ण १ रजत, नेराआवि धौलागिरीले २ स्वर्ण १ कास्य र तेस्रो हुने जनसेवा मावि पुरैनाले १ स्वर्ण र १ कास्य जित्यो ।
…………….
प्रतियोगितामा मावि तहमा अनुशासित टिमको रुपमा जनता मावि सन्तकुटी, निमावि तहमा नेराआवि धौलागिरी र प्रावि तहमा लिटल हार्बर एकेडेमी हुन सफल भएको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताउनु भयो ।
प्रतियोगिताको छात्र भलिबलमा आदर्श मावि डि गाउँ प्रथम, गुराँस चाइल्डहुड एकेडेमी दोस्रो र जनता मावि सन्तकुटी तेस्रो भए । छात्रा तर्फ जनता मावि सन्तकुटी पहिलो, ज्ञानोदय मावि खजुरा दोस्रो र आदर्श मावि डि गाउँ तेस्रो भए ।
एथ्लेटिक्स छात्र तर्फ ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ज्ञानोदय मावि पहिलो, ३ स्वर्ण, २ रजत र ३ कास्य सहित आदर्श दोस्रो र २ स्वर्ण ३ रजत र ४ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो भए । छात्रा एथ्लेटिक्समा ६ स्वर्ण, ६ कास्य सहित जनसेवा मावि पुरैना पहिलो, ४ स्वर्ण ४ रजत र २ कास्य सहित ज्ञानोदय दोस्रो र ३ स्वर्ण ६ रजत र २ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो हुन सफल भएको छ ।
छात्र तर्फको कबड्डीमा जनता मावि बठवा पहिलो, नेरामावि गुदहाना दोस्रो, आदर्श मावि र जनता मावि तेस्रो भए । छात्रा कबड्डीमा ज्ञानोदय मावि पहिलो, जनसेवा मावि दोस्रो, नेरामावि मनकामना र जनता मावि तेस्रो भए । प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा जनता मावि सन्तकुटीका राहुल धौलाकोटी र ज्ञानोदयकी सरस्वती माहुत सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान २ स्वर्ण पदक जितेका थिए ।
कबड्डीमा जनता मावि बठवाका मो. मसउद खाँन र ज्ञानोदय मावि खजुराकी सुस्मा वादी सर्वोत्कृष्ट खेलाडी भए । भलिबलमा आदर्श माविका विकास विक र जनता मावि सन्तकुटीकी पुर्णिमा खत्री सर्वोत्कृष्ट भए ।
………….
प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा भैरहेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
१५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुुफान र उपाध्यक्ष मन्जु मल्लले पुरस्कत गर्नु भएको थियो ।