माघ १५ देखि नवौं डाँफे कप फुटबल हुने
Wednesday, January 24th, 2024, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १० माघ
बाँकेको पुरानो क्लब न्यु डाँफे स्पार्टस क्लव खजुराले नवौं डाँफे कप फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी माघ १५ गतेबाट बाँकेको खजुरा ४ डि गाउँ स्थित मिनी रंगशालामा प्रतियोगिता आयोजना गर्ने भएको हो । नक आउट फूटबल प्रतियोगितामा हुने प्रतियोगितामा १६ वटा क्लवहरुले प्रतिस्पर्धा गर्ने क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
आयोजक न्यु डाँफे स्पार्टस क्लवका अध्यक्ष हरि प्रकाश विकले प्रतियोगिता सफल बनाउन सम्पुर्ण खेल महानुभावहरुलाई आग्रह गरे । उनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा प्रतियोगिताले महत्वपुर्ण सहयोग गर्ने भएकोले स्थानीय क्लबलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
ए डिभिजनको फुटबल खेल्ने खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस क्लव २०३८ सालमा स्वर्गिय गज बहादुर सिंजालीको अध्यक्षतामा गठन भएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक तिलबिर सुनारले क्लवको आफ्नो स्थायी स्रोत नभएपनि नवौं संस्करण सम्म दाताहरुको सहयोगबाट प्रतियोगिता संचालन गर्दै आएको जानकारी दिए ।
उनले यस वर्षको प्रतियोगितामा पनि बिभिन्न दाताहरुबाट सहयोगको आश्वासन प्राप्त भएको जनाउँदै आगामी दिनमा क्लवको स्थायी स्रोत बनाइने बताए । संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ५५ हजार ५५५ र द्वितीयलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए । प्रथम पुरस्कर खजुरा ४ डि गाउँ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत रुपमा प्रायोजन गर्ने घोषणा गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई बाँके जिल्ला फुटवल संघले प्रायोजन गर्ने संघका महासचिव कमल खत्रीले बताए ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेकबहादुर रोका क्षेत्रीले प्रतियोगितालाई स्थानीय सरकारको पुर्ण साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले खेल सकिएपछि सबै गतिबिधि सकिने परिपाटीलाई अन्त्य गर्न क्लवका पदाधिकारीलाई आग्रह गरे । खेल गतिबिधि निरन्तर संचालन गर्न र क्लवको हिसावकिताव पारदर्शी राखेर चन्दादाताहरुलाई सन्तुष्ट बनाउन उनले आयोजकलाई आग्रह गरे ।
डाँफे क्लवले फुटबलमा लालबहादुर थापा, बालबिर थापा, शंकरदेव गिरी, यामबहादुर गुरुङ, सुरेश थापा, लोकबहादुर खत्री, अर्जुन थापालगायत राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।
पत्रकार सम्मेलनमा समाजसेवी लिल बहादुर थापाका भाई ग्रिस बहादुर सिंजाली, जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्री, भुतपुर्व सैनिक विकास समिति बाँकेका उपाध्यक्ष दान बहादुर गुरुङ्ग, न्यु डाँफे बाटै उत्पादन भएका पुर्व राष्ट्रिय खेलाडी सुरेश थापामगर, ए डिभिजन लिग खेलिरहेका खेलाडी दिपेङ्क राज सिंह ठकुरी, क्लबका पदाधिकारी, खेलाडी लगाएतको उपस्थिती रहेको थियो ।