२५ वर्ष पछि सुरु भयो नेपालगन्जमा राष्ट्रिय ब्याडमिन्टन
Thursday, January 25th, 2024, 7:40 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ११ माघ
नेपालगन्जमा २५ वर्ष पछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा बिहिबारदेखि प्रथम नेपालगन्ज खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउनु भएको छ ।
बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगिता माघ १३ गते सम्म नेपालगन्ज स्थित कर्भड हलमा हुनेछ । बिहिबार एक समारोहका बिच लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भंटराईले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

……….
बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाह लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
नेपालगन्जमा २०५५ सालमा २५औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता नेपालगन्जमा राष्ट्रिय स्तरको प्रतियोगिता भएको छैन ।
प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, भेट्रान(४५ वर्षभन्दा माथि) र मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा समावेश गरिएको मेन्स डबल्स ‘बी’ लेभल इभेन्ट अन्य भन्दा केहि फरक भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले बताउनु भयो । जुन इभेन्टमा संघले आयोजना गरेको राष्ट्रिय र प्रदेश स्तरको प्रतियोगिता खेलेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन । नयाँ खेलाडीलाई अवसर प्रदान गर्नको लागि यो इभेन्ट्स समावेश गरिएको आयोजकले बताएको छ ।

……….
प्रतियोगितामा पुरुष एकल विधाको विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समान हरुपमा १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष डबल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रो र चौथोले समान १५ हजार रुपैया, महिला एकल तर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०-१० हजार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
पुरुष डबल्स ‘बी’ लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०-१० हजार, भेट्रान्स तर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो र चौथोले १०-१० हजार पुरस्कार पाउनेछन् । पुर्व राष्ट्रिय च्याम्पियन एवम् प्रशिक्षक अनिल लाखेले नेपालगन्जमा सुरु भएको प्रतियोगिताले खेलाडीहरुमा नयाँ उत्साह जनाएको बताउनु भयो ।
विगतमा बाँके जिल्लाका खेलाडीले ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आएका थिए । हालसम्म बाँकेबाट १८ पुरुष र ४ महिला खेलाडीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । प्रतियोगिता आयोजनामा लुम्बिनी प्रदेश सरकारले सहयोग गरिरहेको छ । अन्य अपुग रकम स्थानीय संघ संस्था र व्यवसायिक प्रतिष्ठानले सहयोग गर्ने अध्यक्ष थापाले बताउनु भयो ।