नेपालगन्ज सेन्ट जेभियर्स, आदर्श मावि नेपालगन्ज र आदर्श मावि खजुरा विजयी
Tuesday, January 30th, 2024, 7:21 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १६ माघ
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, आदर्श मावि नेपालगन्ज र आदर्श मावि खजुरा ‘डि’ गाउँले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा मंगलबार जित हासिल गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्जको जिभिएन कलेजलाई २–० ले पराजित गरेको छ ।
नेपालगन्ज सेन्ट जेभियर्सका लागि दुबै गोल सुमित थापाले गरेका थिए । दुबै गोल पेनाल्टीमा भएको थियो । सुमितले २८औं र ४६औं मिनेटमा गोल गरेका थिए ।
खेलको दौरान रेफ्रीले गरेको निर्णय प्रति असमति जनाउँदै जिभिएन कलेजका प्रशिक्षक, व्यवस्थापक र प्रिन्सिपलले करिब १ घण्टा खेलमा अबरोध पु¥याएका थिए । जिभिएनका कप्तान आर्यन तामाङले डिबक्स एरियामा हातले बल रोकेपछि रेफ्री अमर घलेले उनलाई रातो काँडो दिदैं पेनाल्टीको इसारा गरेका थिए ।
रेड कार्ड पाएर कप्तान आर्यन मैदान बाहिर निस्कने बेला जिभिएनका प्रशिक्षक, व्यवस्थापक र प्रिन्सिपलले खेल भावना विपरित रेफ्रीको निर्णय प्रति असन्तुष्ट हुँदैं मैदानमा प्रवेश गरेका थिए । पछि प्रहरीले उनीहरुलाई मैदानबाट बाहिर लगेको थियो ।
उक्त खेलमा नेपालगन्ज सेन्ट जेभियर्सका सुमित थापा म्यान अफ द म्याच घोषित भए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुजन बिक्रम शाह र निरञ्जन घिमिरेले पुरस्कृत गरे ।
यसैगरी मंगलबारको दोस्रो खेलमा आदर्श मावि नेपालगन्जले अमर मावि ‘सी’ गाउँलाई ८–० को फराकिलो अन्तरले हराएको छ । खेलमा आदर्शका मनिष खड्काले ४, २८, ५३ र ६०औं मिनेटमा गोल गरेका थिए । समिर श्रेष्ठले ११औं र ३३औं मिनेटमा, जेनिस बोहराले ४५औं मिनेट र सन्तोष बुढामगरले ६०औं मिनेटमा गोल गरेका थिए ।
खेलमा चार गोल गर्ने आदर्शका कप्तान मनिष खड्का म्यान अफ द म्याच घोषित भए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक नारायण डाँगीले पुरस्कृत गरे ।
मंगलबार भएको तेस्रो खेलमा आदर्श मावि खजुरा ‘डी’ गाउँले धम्बोझी मावि नेपालगन्जलाई २–० ले पराजित गरेको छ । आदर्शका लागि कप्तान इन्द्र्रजित सुनारले ३२औं र ४४औं मिनेटमा गोल गरेका थिए । खेलमा दुई गोल गर्ने इन्द्रजीत म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरे । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।
…………..
………….