कर्मचारी कुटने वडा अध्यक्षले मागे माफी
Sunday, February 11th, 2024, 5:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ माघ
कर्मचारीलाई हातपात गर्ने खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले माफी मागेका छन् । उनले आफनो गल्ती स्वीकार गर्दै माफी मागेपछि खजुरा गाउँपालिकामा कार्यरत कर्मचारीहरु काममा फर्किएका छन् ।
यसै साता फिल्डमा खटिएका प्राविधिक लिलाराज धामीमाथि वडा अध्यक्ष शेखले हातपात गरेका थिए । ईलाका प्रहरी कार्यालय धनौलीमा जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा भएको छलफलमा उनले माफी मागेका हुन् ।
वडाध्यक्ष शेषले माफी मागेपछि बुधबारदेखि खजुराको कामकाज प्रभावित पारेका कर्मचारीहरु आइतबारदेखि काममा फर्किएका छन् । वडा नम्बर ६ मा रहेको भानु माध्यमिक विद्यालयमा सम्पन्न माटो पटान योजनाको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि वडाध्यक्ष शेषले बुधबार हातपात गरेका थिए ।
काम सम्पन्न भएको बारेमा मुल्याकन नगरी वडा अध्यक्ष शेखले प्राविधिकलाई योजना सम्पन्न भएको प्रतिवेदन बनाउन दबाब दिएका थिए । प्राविधिकले चेकजाँच गरेर मात्र प्रतिवेदन बनाउन मिल्ने भनेपछि शेखले कर्मचारीलाई कुटपिटको प्रयास गरेका थिए । शेख भानु माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् ।