कार्यालय परिसरमै वरिष्ठ वैद्य चौधरीमाथि हातपात, घटनामा संलग्नलाई कारबाहीको माग
Tuesday, February 13th, 2024, 6:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ फागुन
खजुरा गाउँपालिकाका प्राविधिकमाथि भएको हातपात घटनाको एक सातापछि पुनः अर्को कर्मचारीमाथि अभद्र व्यवहार भएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका कर्मचारी सिताराम चौधरीमाथि सोमबार अभद्र व्यवहार भएको हो ।
आयुर्वेद कार्यालयमा रहेको हलमा नियमित योग गर्न जाने व्यक्तिहरुले नै कर्मचारीलाई अभद्र व्यवहार गरेका छन् ।
कार्यालय समयमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत वरिष्ठ वैद्य सिताराम चौधरीलाई योग समिति नेपालका सदस्यहरुले अभद्र व्यवहार गर्दै हातपात गरेको आरोप लागेको छ ।
वरिष्ठ बैद्य चौधरीमाथि कार्यालय समयमा हातपात भएपछि आयुर्वेदसँग सम्बन्धित संगठनहरुले संयुक्तहरुमा विज्ञप्ती जारी गर्दै बिरोध जनाएका छन् ।
राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल बाँके अध्यक्ष उदिप श्रेष्ठ, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज बाँके अध्यक्ष गौरीशंकर मण्डल र नेपाल आयुर्वेद चिकित्सक संघका आजिविन सदस्य डा. अनिल कुमार चौधरीले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै वरिष्ठ वैद्यमाथि भएको हातपातको घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्नु भएको छ ।
संयुक्त रुपमा निकालिएको विज्ञप्तीमा वरिष्ठ वैद्य चौधरी माथि योग समिति नेपालका सदस्यहरु निर्मला शाह, अम्बिका कोइराला, जगदिश तिमिल्सना, सविता शर्मा सहित ६ जनाले हातपात गरेको उल्लेख गरिएको छ ।
आयुर्वेदका क्षेत्रमा काम गरिरहेका संगठनहरुको नेतृत्वले कार्यालय समयमा कर्मचारीमाथि भएको आक्रमणको घटना निन्दनिय भएको भन्दैं राष्ट्रसेवक कर्मचारीको सुरक्षा तथा मनोबल बढाउनको लागि सुरक्षित रुपमा काम गर्ने वातावरण सिर्जना गर्न सरोकारवाला निकायसँग अनुरोध गर्नु भएको छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको कार्यालय प्रमुख वरिष्ठ कविराज निरिक्षक डा.गीता रेग्मीले कार्यालयमा रहेको योग हलको विषयलाई लिएर योग समिति नेपालका सदस्यहरुले आफनो कर्मचारीमाथि हातपात गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘हाम्रो कार्यालयमा नयाँ संरचना बन्ने क्रम चलिरहेको छ । योग गर्ने हल आज–भोली भत्काउने तयारी छ । निर्माण कम्पनीले हामीलाई ति संरचनामा कुनै क्रियाकलाप गर्न नमिल्ने बताउनु भएको छ । तर योग समिति नेपालका सदस्यहरुले कुरा नबुझेर हाम्रो कर्मचारीमाथि हातपात गर्नु भयो । उहाँहरुले विगतमा त्यस्ता अभंद्र क्रियाकलाप गरेको हुनाले हाम्रो कर्मचारीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण छैन । त्यसको लागि हामीले जिल्ला प्रशासन कार्यालयलाई घटनाको बारेमा जानकारी गराएको छौं ।’
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जले यसअघि कार्यालय परिसरमा नयाँ संरचना निर्माण काम भैरहेकोले योग गर्ने हल केहि समयका लागि प्रयोग गर्न नमिल्ने भन्दैं सार्वजनिक रुपमा सुचना जारी गरेको थियो । स्वास्थ्य केन्द्र नेपालगन्जले आर्थिक वर्ष २०८०–०८१ मा कार्यालय परिसरमा रहेको योगहलको पछाडी नयाँ ओपीडी र पञ्चकर्म भवन निर्माण गरिरहेको छ ।
निर्माण कार्य भैरहेकोले केहि समयको लागि योग गर्न रोकेपनि केहि व्यक्तिहरुले अटेर गरी योग गर्दै आएका थिए । तर योग समितिका सदस्यहरु गत सोमबार कार्यालय समयमा सोधपुछको लागि आएको भन्दैं कर्मचारीमाथि हातपात गरेका थिए ।
कार्यालय प्रमुख रेग्मीले योग हल खोल्न अनावश्यक दबाब दिदैं कर्मचारीमाथि हात पार्ने व्यक्तिलाई कारबाहीको माग गर्नु भएको छ ।