सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट: कोहलपुर मेयर-११ टिम फाइनलमा प्रवेश
Tuesday, February 13th, 2024, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, फागुन १ गते
स्थानीय कोहलपुर मेयर-११ टोली बाँकेको कोहलपुरमा भैरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला राष्ट्रिय टि-२०क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कोहलपुर एक खेल अगावै फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न भएका दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका हुन् ।
बागमतीले गण्डकीलाई ७ विकेटले हरायो । अर्को खेलमा कोहलपुर मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गरेको थियो । बागमतीको लागि एली यादवले १५ रन र बिपिशा शाहीले १२ रन बनाउनु भयो । गण्डकीको तर्फबाट निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १-१ विकेट लिनु भयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ८ विकेट क्षतीमा ५६ रन बनाएको थियो । गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सक्नु भएन । बागमतीका लागि बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिनु भयो । खेलमा प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनिषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र दिनु भएको थियो । बागमतीले अन्य ५ विकेट रन आउट मार्फत पाएको थियो ।
यसैगरी दोश्रो खेलमा सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर-११ ले ४ विकेट गुमाएर १७.४ ओभरमा प्राप्त गरेको थियो । कोहलपुर मेयर-११ को तर्फबाट साना प्रविनले सर्वाधिक ३९ रन बनाउनु भयो । उहाँले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्नु भएको थियो । प्रतिमा शाहले अविजित १८ रन बनाउनु भयो ।
सुदूरपश्चिमको तर्फबाट रबिना साउदले २ विकेट, स्नेहा महरा र निशा खडायतले १-१ विकेट लिनु भयो । टस जितेर सुरुआतमा ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रनको योगदान गर्नु भयो ।
उहाँले ४४ बलमा ४ चौका समेत प्रहार गर्नु भएको थियो । रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाउनु भयो । कोहलपुर मेयर-११ की भवानी कमातीले सर्वाधिक ३ विकेट लिनु भयो । प्लेयर अफ द म्याच घोषित कमातीले ३.३ ओभरमा १४ रन दिनु भएको थियो । आरति महतोले २ विकेट, हैमवती रोय र तृष्णा बिश्वकर्माले १-१ विकेट लिनु भयो । लगातार तिन खेलमा जित हासिल गरेको कोहलपुर मेयर-११ कुल ६ अंक सहित अंकतालिकाको शिर्षमा छ । जसले फाइनलमा स्थान पक्का गरिसकेको छ ।