सुदूरपश्चिमले जित्यो सुशील कोइराला मेमोरियल अन्डर-१९ प्रतियोगिताको उपाधि
Thursday, February 15th, 2024, 4:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, ३ फागुन
सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्यो ।
कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम बलमा १ रन आवस्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाईन् ।
सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन योगदान दिईन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन् । कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाईन् ।
यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो । कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिईन् । ओपनिंग ब्याटिंग गर्दै अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाईन् । रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन् ।
सुदूरपश्चिमको बलिंगमा अनु कडायत र स्नेहा महराले २/२ विकेट लिए । अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन् । उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्यो । उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ पायो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर-११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन् ।
उत्कृस्ट बलर गण्डकी प्रदेशकि रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन् जसले समान ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकि सावित्री धामी घोषित भईन् । समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूणर् प्रशाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो ।
६ दिन चलेको प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।