परसपुर-गौघाट सडक खण्ड : सम्झौता सकिन ६ महिना बाँकी, प्रगति १२ प्रतिशत मात्रै
Saturday, February 17th, 2024, 10:00 am
Kalpristha
कमल खत्री
नेपालगन्ज, ४ फागुन
परसपुर-गौघाट सडक खण्ड निर्माणको जिम्मेवारी पाएको कन्काई-गणपति जेभीलाई कारबाही गर्नको लागि प्रक्रिया अगाडी बढेको छ । सम्झौता अनुसार निर्माण कार्यको प्रगति सन्तोष जनक नभएको भन्दैं सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई-गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोष जनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरेको थियो ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले हाल सम्म १२ प्रतिसत मात्रै काम सम्पन्न भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताउनु भयो । उहाँले भन्नु भयो,‘परसपुर-गौघाट सडक खण्डको निर्माण कार्य निकै सुस्त छ । निर्माणको जिम्मेवारी पाएको कम्पनीको कार्य प्रगति सन्तोष जनक नभएकोले प्रक्रिया अनुसार हामीले पहिलो चरणमा कार्यसम्पादन ढिला हुनुको कारण मागेका छौं ।’
………….
कार्यालय प्रमुख शाक्यले परसपुर-गौघाट सडक खण्ड अब निर्धारित समयमा सम्पन्न हुन निकै कठिन भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘अब करिब ६ महिना बाँकी छ । यस अवधिमा काम सम्पन्न गर्न कठिन छ । त्यसैले सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढ्छ ।’ बाँके पश्चिम तर्फको सीमावर्ती क्षेत्रमा पर्ने परसपुर-गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिदै गएको छ । जानकी, खजुरा र बर्दिया बढैयातालका जनताहरुले नेपालगन्ज आवात जावतमा प्रयोग गर्ने सडक समयमै नबन्ने करिब पक्का देखिएको छ ।
संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाट सम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई-गणपति जेभिले १४ करोड रुपैयाँमा ठेक्का पाएको थियो । निर्माण कार्य सम्पन्न गर्न करिब ६ महिना बाँकी रहँदा कामको प्रगति सन्तोषजनक छैन । ठेकेदार कम्पनीले काम गर्छु भनेर आश्वासन दिएपनि निकै सुस्त गतिमा निर्माण कार्य अघि बढिरहेको बताउनु हुन्छ खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओली । उहाँले भन्नु भयो,‘स्थानीय जनतालाई निकै कठिन भैरहेको छ । अहिले धुलोले समस्या पारेको छ, वर्षातमा हिलोले जनतालाई आवतजावतमा अप्ठयारो पर्ने गर्छ । निर्माणको ठेक्का पाएको कम्पनीलाई बारम्बार दबाब दिएपनि कामको गति सन्तोष जनक छैन ।’
परसपुर-गौघाट सडक खण्डको अवस्था बिग्रिएका कारण दैनिक रुपमा बाँके र बर्दियाका जनताले दुःख पाउँदै आएका छन् । सम्झौता अनुसार कन्काई-गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौं २५ सम्म योजना सम्पन्न गर्नु पर्ने हुन्छ । तर कन्काई-गणपति जेभिले सम्झौता भएको १६ महिना पछि मात्रै काम सुरु गरेको थियो । सम्झौता भएर पनि काम सुरु नभएपछि स्थानीय जनताले बिरोधद जनाउँदै आएका थिए ।
कन्काई-गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले निर्माण कार्य सम्झौता अवधिमै सम्पन्न गर्ने दाबी गर्नु भएको थियो । तर उहाँले भने अनुसार उक्त सडक खण्ड सम्झौता अवधिमा सम्पन्न हुन कठिन देखिएको छ । एक दशक अघि उक्त सडकको कालोपत्रे गरिएको थियो । तर सडकको अवस्था बिग्रदै गएपछि २०७४ सालमा कालोपत्रे भत्काइएको थियो । त्यसपछि बजेट अभाव कारण उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको थियो ।