पहिलो पटक नेपालगन्ज-जनकपुर हवाई उडान सुरु
Saturday, February 17th, 2024, 5:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ फागुन
आन्तरिक धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पहिलो पटक लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको राजधानी जनकपुरका लागि हवाई उडान सुरु गरिएको छ । यति एयरलाइन्सले सुरु गरेको पहिलो प्रवर्द्धनात्मक उडान शनिवार दिउँसो नेपालगन्ज विमानस्थलबाट २ बजेर ४० मिनेटमा भएको यति एयरलाइन्सले जनाएको छ ।
जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज-जनकपुर सिधा हवाई उडान सुरु गरिएको यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलीप कार्कीले बताउनुभयो ।
उहाँले निकै उत्साहका साथ सुरु भएको उडानको पहिलो खेपमा ७२ जना यात्रु र एक जना बच्चासहित जहाज जनकपुर प्रस्थान गरेको र शनिबार नै सो जहाज नेपालगन्ज फर्कको बताउनुभयो । जनकपुरका लागि गरिएको पहिलो प्रवर्द्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेश सभाका सदस्य अम्बिका काफ्ले, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ, नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामी, पूर्व अध्यक्षहरू नन्दलाल वैश्य र कृष्णप्रसाद श्रेष्ठसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल जनकपुर जानुभएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले यो उडान गरेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उडानका लागि यति एयरलाइन्सले एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरेको छ ।