वाफ वुमन्स च्याम्पियनसिपः लेवनानलाई हराउँदै नेपाल फाइनलमा
Wednesday, February 28th, 2024, 10:46 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ फागुन
नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार लेवनानलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । दोस्रो हाफमा उत्कृष्ट पुनरामगन गर्दै नेपालले २–१ को शानदार जित निकालेको हो ।
खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाति गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो । गोलकिपर एन्जिला शुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाति गोल हुन पुगेको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन रच्यो ।
सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् । खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो । पहिलो हाफमा लेवनानमाथि दबाब बनाएपनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन । नयाँ मैदानमा खेलाडीले बल होल्डनै गर्न सकेका थिएनन् । दोस्रो हाफमा नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । लेवनानमाथि एकपछि अर्को आक्रमण बुन्दै नेपालले दबाबमा राखेको थियो ।
लेवनानमाथि प्रशस्त अवसर सिर्जना गरेपनि नेपालले ती अवसरलाई गोलमा परिणत गर्न भने सकेन । नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले फाइनल खेलमा उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रने बताएकी छिन् । मंगलबार राति लेवनानविरुद्ध बराबरी गोल फर्काएकी सावित्राले फाइनल उपाधिका लागि खेल्ने प्रतिक्रिया दिएकी हुन् ।
जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो । नेपाल भन्दा विश्व वरियतामा समेत अघि रहेको जोर्डनलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हेरिएको छ । ‘उनीहरु धेरै राम्रो टिम हुन् । तर हामी उपाधिका लागि खेल्छौं । बलियो प्रतिद्धन्दीको रुपमा उनीहरुलाई हामी सम्मान गछौं ।’ खेलपछि सावित्राले भनिन् । प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ताको दौडमा निकै अघि छिन् । उनले प्रतियोगिताका सबै खेलमा नेपालका लागि गोल गरेकी छिन् ।
सेमिफाइनलमा समेत उनले नेपालका लागि बराबरी गोल फर्काएकी थिईन् । प्रिति राईको उत्कृष्ट गोलमा नेपालले लेवनानमाथि शानदार पुनरागमन जित रचेको थियो । सावित्राले लेवनानविरुद्ध पहिलो हाफमा मैदानका कारण खेल्न गाह्रो रहेको बताईन् । उनले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्दै नतिजा निकाल्न सफल भएको बताईन् । ‘पहिलो हाफमा मैदानमा भिज्नै सकेनौ । बल होल्न नि गर्न सकेनौं । पहिलो हाफ कठिन भयो ।’ उनले भनिन्, ‘दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्यौ र सोही अनुसार नतिजा निस्कियो ।’