नेपाल कल्चर फेस्टिवलको तयारी पुरा
Wednesday, March 6th, 2024, 10:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ फागुन
अन्तरालको आयोजना र व्यवस्थापनमा आजदेखि नेपालगन्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलको तयारी पुरा भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी गराएको हो । फेस्टिवलको अवसरमा विशेष कन्सर्ट पनि हुनेछ । बास नेपालको सहकार्यमा हुन लागेको फेस्टिवलमा ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको फागुन २७ गते कन्सर्ट हुनेछ ।
फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले नेपाली संस्कृति, भेषुभषा, र इतिहासलाई झल्काउने गरी नेपालमा पहिलो पटक फेस्टिवल हुन लागेको बताउनु भयो । फेस्टिवलले नेपालगन्जलाई पनि विश्वसामु चिनाउन सहयोग गर्ने उहाँले बताउनु भयो । बुधबार भएको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधि मुलुक व्यक्तीहरुले फेस्टिवलको महत्वको बारेमा आफनो धारणा राखेका थिए ।
स्थानीय मौलिकता र संस्कृतिलाई चिनाउने फेस्टिवललाई सफल बनाउन स्थानीय सरकारले अपनत्व लिन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, लुम्बिनी प्रदेश खेलकुद विकास समिति सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाह, नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जीवी ओली, पर्यटन प्रवद्र्धन मंच बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह लगायतले फेस्टिवल सफल बनाउन साथ र सहकार्य गर्ने बताउनु भएको थियो ।
दृष्टिविहिन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ । मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिईन् । भारतीय गायन रियालिटि शो ‘सारेगमप’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् । इन्डियल आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे । उनीहरुले मेनुका पौडेलको गायकी र स्वरको प्रसंशा गर्दै भारतीय महान गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।
यो विशेष कार्यक्रम लाई ‘लेट्स सिङ विथ मेनुका ‘मेनुका सँगै गाऔं’ नाम दिइएको फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । उनले भने, ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो’ । बाद्यवादन टिम सहित मेनुकाको ‘लाइभ ’ प्रस्तुति हुनेछ । कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइन वाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।
यही फागुन २६ गते शनिवार नेपालगन्जमा ‘ म्यूजिक फर हार्मोनी’ ९सद्भावका लागि संगीत० कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपाल कल्चर फेस्टिवलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्टिय अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व ’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् । ‘कुटुम्ब’ले नेपाली लोक बाजाहरुको प्रर्वद्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिई नेपाली लोकधुनहरुलाई नेपाल मात्र होईन, संसारका धेरै देशका सांगीतिक मञ्चहरुमा प्रस्तुत गरिसकेको छ ।
नेपाली लोक वाजा र धुनहरुलाई नयाँ पुस्ता माझ पुर्याउन कुटुम्बको ठूलो भूमिका छ । पुराना नेपाली लोक गीतहरुको धुनलाई पूणर्तः लोकबाजा वाटै प्रस्तुत गरेर कुटुम्बले नयाँ पुस्ताका दर्शकहरुलाई पनि जुरुक्कै उचाल्ने गरेको छ । गायिका झुमा लिम्वु ‘ भर्सटाईल ’ गायिका हुन् । नेपाली रैथाने संगीतमा गहिरो अध्ययन गरेकी झुमाले विदेशी भूमिमा धेरै प्रस्तुति दिएकी छन् ।
‘म्युजिक ट्रयाक ’ मा गीत नगाउने पहिचान बनाएकी लिम्वुले विदेशी र स्वदेशी संगीतकर्मीहरुलाई समेटेर ‘ रैथाने ’ व्याण्ड मार्फत काम गरिरहेकी छन् । सुदूर पश्चिमको देउडा देखि विभिन्न भाषा भाषीका गीत, पूर्वको लिम्वु संस्कृतिको पालाम सम्म आफ्नो स्टेज प्रस्तुतिमा समेट्ने गरेकी झुमा लिम्वु चलचित्रका गीत र पाश्र्व गायनमा समेत सक्रिय छन् ।
झुमा सहितको टिमले नेपाली मौलिक बाजाहरुको अध्ययन गर्ने क्रममा आफैले केही नयाँ बाजाहरु वनाएका छन् । ‘देशै भरको संस्कृति एकै ठाउँमा झल्काउने गरि आयोजना गरिएको नेपाल कल्चर फेस्टिवल को तयारी तीब्र पारिएको छ’( अन्तरालका कार्यक्रम संयोजक गणेश राईले भने ‘म्यूजिक फर हार्मोनीले नेपालगन्जवाट संसारलाई सद्भावको सन्देश दिनेछ । नेपालगन्ज रंगशालामा हुने यस कार्यक्रमको टिकट विक्री केही दिनमै शुरु हुनेछ भने विद्यार्थीलाई विशेष सहुलियत हुनेछ ।