नेपालगन्जमा ‘लु’ जोखिम सचेतना अभिमुखीकरण सम्पन्न
Thursday, March 7th, 2024, 8:38 pm
Kalpristha
प्रहलाद विश्वकर्मा
नेपालगन्ज, २४ फागुन
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर ‘लु’ जोखिम सचेतना विषयक विद्यालय शिक्षकहरुको लागि अभिमुखीकरण तालिम नेपालगन्जमा सम्पन्न भएको ।
विद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुलाई तातो हावाको जोखिमबाट बचाउन जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले शिक्षकहरुलाई उक्त तालिम दिइएको हो । तालिममा गर्मी बढनुको कारण, हिटवेभ भनेको के हो ? बच्ने उपाय, जोखिममा पर्ने समुह, आगामी दिनमा गरिने कार्यलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । यसका साथै विद्यालय स्तरमा संचालन गरिने अभिमुखीकरणको कार्ययोजना समेत निर्माण गरिएको छ ।
अमेरिकन रेडक्रसको सहयोग र नेपालगन्ज उप–महानगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा तातो हावाको लहर (लु) जोखिम व्यवस्थापन कार्यक्रम संचालन भइरहेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले तातो हावाको लहरबाट हुने जोखिम कम गर्न रेडक्रसको सहकार्यमा उप–महानगरापालिका क्षेत्रमा जनचेतना अभिवृद्धि गरिरहेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावाको प्रभाव सबै वर्ग र समुहमा हुने गरेको जस मध्ये बालबालिका, बृद्धा र दिर्घरोगी बढी प्रभावित हुने गरेको बताउनु भयो ।
नेपालगन्ज उप–महानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरखबहादुर थापा, वातावरण इन्जिनीयर एवं विपद् फोकल पर्सन प्रकाश डिसी र नेरेसो बाँके शाखाका उपनिर्देश दोलखबहादुर डाँगीले तातो हावाको लहर (लु) को बारेमा सहजीकरण गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत नेपालगन्ज उप–महानगरपालिका क्षेत्रका २३ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।