राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते हुने
Sunday, March 10th, 2024, 3:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रिय सभा बैठकमा सुनाएकी छन् । राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन् ।
यसअघि नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले केही दिन चुनाव सार्न आग्रह गरेका थिए । आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो ।
राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ । कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ ।
सत्ता गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीले र उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने समझदारी बनेको नेताहरूले दाबी गरेका थिए । कांग्रेसले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक गरेर अन्य दलहरूसँग छलफल गरेर राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । सोमबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।