अझै सुरु भएन स्मार्ट लाइसेन्स छपाई
Sunday, March 10th, 2024, 3:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ माघ
गत माघ पहिलो साता नै नेपाल आइपुगेको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छाप्ने प्रक्रिया अझै अघि बढेको छैन । यातायात व्यवस्था विभागले जर्मनीको म्युहलबाअर कम्पनीसँग ठेक्का गरेको १२ लाखमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको थियो ।
कार्डमा व्यक्तिको विवरण प्रिन्ट गर्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सको मेसिन छ । उक्त मेसिनले प्रिन्ट गर्ने स्पेसिफिकेसन अनुसारको कार्ड जर्मन कम्पनीबाट नआउँदा समस्या भएको थियो । विभागसँग रहेको मेसिनले प्रिन्ट गर्नेभन्दा फरक सिस्टम चाहिने कार्ड आएपछि समस्या भएको हो । हालसम्म पनि समस्या समाधान हुन सकेको छ । विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले अझै समस्या समाधान भइनसकेको बताए ।
उनले भने, ‘अहिले पनि पूरानै किसिमका अत्यावश्यक कार्ड मात्रै छापिने काम भइरहेको छ । नयाँ कार्ड छाप्न समस्या समाधान भइसकेको छैन । काम भइरहेको छ तर जति छिटो हुनुपर्ने हो त्यो भएको छैन ।’ कार्ड आपूर्तिकर्ता जर्मन कम्पनी म्युहलबाअर र मेसिन आपूर्ति गर्ने मद्रास सेक्युरिटी प्रिन्टर्ससँग समन्वय गरेर जति सक्दो छिटो कार्ड छाप्ने प्रयास भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।