राष्ट्रियसभा अध्यक्ष निर्वाचनः कांग्रेसबाट बाँकेका युवराज शर्मा उमेदवार
Sunday, March 10th, 2024, 7:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने निणर्य गरेको छ । संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उमेदवार बनाउने निणर्य गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ । अरू दललाई पनि शर्माको पक्षमा मतदान गर्न आह्वान गर्ने निणर्य भएको रमेश लेखकले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निणर्य गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ । ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय संसद सचिवालयको विवरण अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् ।
२०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक सदस्यता लिएका उनी २०२८ मा नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति भएका थिए । २०३४ मा तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दा जेल परेका थिए । २०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए । राष्ट्रिय सभाको अध्यक्षको उम्मेवार भएपछि उनले पार्टीले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिए ।
‘फोन गरेर पार्टीले तपाईं अध्यक्षको उम्मेदवार हुनुहुन्छ भनेको छ । जित हार परिणामले देखाउँछ । पार्टीले मलाई विश्वास गर्यो, नेतृत्वलाई म धन्यवाद दिन चाहन्छु’, शर्माले भने । राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भए संवैधानिक जिम्मेवारी कुशलतापूवर्क निर्वाह गर्ने पनि उनले बताए ।