नेपाली कांग्रेस बाँकेको पालिकास्तरीय प्रशिक्षण समापन
Tuesday, March 12th, 2024, 8:32 pm
Kalpristha
कालपृष्ठ समाचारदात
नेपालगन्ज, २९ फागुन
नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली काँगे्रस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि जारी पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सकिएकोे छ । फागुन २५ गतेदेखि काहेलपुरबाट शुरु गरिएको एक दिने प्रशिक्षण कार्यक्रम आज मंगलबार वैजनाथ गाउँपालिकामा सञ्चालन गरेर समापन गरिएको हो ।
कोहलपुर, राप्ती सोनारी, नेपालगन्ज उपमहानगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा प्रशिक्षण सञ्चालन गरिएको थियो । जानकी, डुडुवा, नरैनापुर गाउँपालिकामा एक महिनापछि प्रशिक्षण शुरु गरिने काँग्रेस बाँकेले जनाएको छ । रमजानका कारण अहिलेलाई प्रशिक्षण स्थगीत गरिएको काँगे्रस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
प्रशिक्षण समापन समारोहमा बोल्दै नेपाली काँगे्रसका सह महामन्त्री बद्री पाण्डले काँगे्रसी कार्यकर्ता बैचारिक रुपमा सशक्त भए मात्रै संगठन सुदृढ र चलायीमान हुने बताउनु भयो । प्रमुख प्रशिक्षक समेत रहनु भएका पाण्डेले बैचारिक ज्ञान र स्पष्टताले नै अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिने स्पष्ट पार्नु भयो । काँगे्रस गुट उपगुटमा विभाजित नभईकन जन सरोकारका सवालमा केन्द्रीत भएर अघि बढनु पर्ने आवश्यक्ता उहाँले औल्याउनु भयो ।
सह महामन्त्री पान्डेले काँगे्रस सुदृढीकरण लगायतका विविध पाटोमा प्रशिक्षण दिनु भएको थियो । यस्तै नेपाली काँगे्रस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले नेपाली काँगे्रसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधी शर्माले नेपाली काँगे्रस, प्रजातन्त्र र समाजवाद, पत्रकार शुक्रऋषि चौलागाईले काँगे्रस र मीडियाबीचको सम्वन्ध , तिर्थ पौडेलेले जन सरोकारका सवाल, पार्टी संगठन, योजना, कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
नेपाली काँगे्रस बैजनाथ गाउँपालिका सभापति देब बहादुर केसीले स्वागत गर्नु भएको कार्यक्रमको सभापतित्व नेपाली काँगे्रस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीले गर्नु भएको थियो भने सञ्चालन प्रशिक्षण शाखा सचिव उमा थापा मगरले गर्नु भएको थियो । पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । तालिममा सहभागी अधिकांसले प्रशिक्षणबाट पार्टीको सैद्धान्तिक विचार, नीति, संगठन निर्माण, मिडीया र सामयिक ज्ञानसँगै धेरै विषय बारे जानकारी प्राप्त भएको र उपलव्धीमुलक रहेको बताए ।