यसरी भयो अन्डर वल्र्ड डन दाउद इब्राहिमको २ खर्ब बढि जफत
Saturday, January 7th, 2017, 8:37 am
amit
संयुक्त अरब इमिरेट्स- संयुक्त अरब इमिरेट्स सरकारले मंगलबार भूमिगत गिरोहका नेता (अन्डर वल्र्ड डन )दाउद इब्राहिमको २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति जफत गरेको छ ।
भारतीय सरकारले उनीमाथि विभिन्न हत्या, अपहरणमा संलग्न रहेको भन्दै सर्वाधिक खोजीको सूचीमा राखेको छ । सन् १९९३ मा मुम्बईमा भएका शृंखलाबद्ध आक्रमणमा उनी संलग्न रहेको भारतको भनाइ छ । उक्त आक्रमणमा २ सय ५७ जनको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । भारत सरकारले इब्राहिममाथि कारबाही गर्न विभिन्न देशसँग आग्रह गर्दै आएको छ ।
इब्राहिमको अरब इमिरेट्समा होटलहरू र कम्पनी रहेको बताइन्छ । भारत सरकारले इब्राहिमको दुबईमा रहेको सम्पत्तिको सूची उपलब्ध गराएको थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुबई भ्रमणका क्रममा इब्राहिमलाई कारबाही गर्न आग्रह गरेका थिए ।
यसै सूचनालाई आधार मानेर अरब इमिरेट्सले उनको सम्पत्तिको छानबिन अघि बढाएको थियो । संयुक्त राज्य अमेरिकाले पनि उनलाई आतंकवादी भएको घोषणा गरेको छ । उनले अल कायदा र लस्कर-ए-तयबा लाई आर्थिक सहयोग गर्ने गरेको अमेरिकी भनाइ छ ।