परसपुर–गौघाट सडक खण्ड: सडक निर्माणमा ढिलाई भएपछि आक्रोशित बन्दैं स्थानीय बासिन्दा
Friday, March 15th, 2024, 6:59 am
Kalpristha
कमल खत्री
नेपालगन्ज, १ चैत
बाँकेको परसपुर–गौघाट सडक खण्ड निर्माणमा वेवास्ता गरेको भन्दैं स्थानीयले आक्रोश पोखेका छन् । बिहिबार खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दाहरुले रिमझिम बजार चोक र वडा कार्यालयमा केहि बेर नारा लगाएका थिए । आक्रोशित बनेका स्थानीयले वडा कार्यालय समेत ताला लगाएर बिरोध जनाएका थिए । स्थानीयले निर्माणको ठेक्का पाएको कम्पनी कन्काई–गणपति जेभि विरुद्ध पनि नारा लगाएका थिए । बाँकेको पश्चिम क्षेत्रमा पर्ने उक्त सडक खण्डले सिमावर्ती क्षेत्रका बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने काम गर्छ ।
२०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर बृद्धि हुन सकेको छैन् । जसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ । आन्दोलनमा अगुवाई गर्नु भएका स्थानीय रेशम क्षेत्रीले ठेकेदार कम्पनीले सम्झौता अनुसार बाटो निर्माण कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने माग राख्नु भएको छ । उहाँले भन्नु भयो, ‘बाटोको अवस्था बिग्रिएका कारण दैनिक रुपमा मानिसहरुलाई समस्या परिरहेको छ । बाटो निर्माणमा ठेकेदार कम्पनीले पनि चासो दिएको देखिदैन् । हामी बाध्य भएर वडा कार्यालय र सडक अवरुद्ध गर्ने अवस्थामा पुगेका हौं ।’
पटक–पटक निर्माण कम्पनीलाई दबाब दिएपनि काम हुन नसकेको खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनराम ओलीले बताउनु भयो । वडा कार्यालयमा लागेको ताला सहमतिमा खोले पछि वडा अध्यक्ष ओलीले ठेकेदार कम्पनीले काम नगरे कानुनी रुपमा कारबाहीको लागि सरकारले प्रक्रिया अगाडी बढाउनु पर्ने बताउनु भयो ।
परसपुर–गौघाट सडक खण्ड निर्माणको जिम्मेवारी पाएको कन्काई–गणपति जेभीले निर्धारित समयमा काम सम्पन्न गर्ने सम्भावना कम हुँदै गएको छ । आगामी भदौ २५ गते सम्झौता सकिदैछ । सम्झौता सकिन करिब ६ महिना बाँकी छ । सम्झौता भएको २२ महिनामा १२ प्रतिसत मात्र काम भएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।
सम्झौता अनुसार सन्तोष जनक काम नभएको भन्दैं सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोष जनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरेको थियो ।
सडक डिभिजन कार्यालयले हाल सम्म १२ प्रतिसत मात्रै काम सम्पन्न भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताएको छ । संघीय सरकारको सहयोगमा कन्काई–गणपति जेभीले उक्त सडक खण्ड निर्माणको ठेक्का पाएको छ । १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि १४ करोड रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौं २५ सम्म योजना सम्पन्न गर्नु पर्ने सर्त रहेको छ । तर सम्झौता अवधि सकिन ६ महिना बाँकी हुँदा ८८ प्रतिसत काम अझै बाँकी रहेको छ ।
निर्माणको जिम्मेवारी पाएको कन्काई–गणपति जेभिको ढिलासुस्तीका कारण उक्त सडक खण्ड सम्झौता अवधिमा पुरा नहुने देखिएको छ । निर्माण कार्य किन ढिलाई भैरहेको हो भन्ने बारेमा बुझने प्रयास गर्दा भण्डारी सम्पर्कमा आउन चाहनु भएन् । सुरुआत चरणमा सम्झौता अवधिमै निर्माण सम्पन्न गर्ने दाबी गर्दै आएका कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारी अहिले सम्पर्कमै आउन छाडेको स्थानीयको गुनासो छ ।

……………
बाँके पश्चिम तर्फको सीमावर्ती क्षेत्रमा पर्ने परसपुर–गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिदै गएको छ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताहरुले नेपालगन्ज आवात जावतमा प्रयोग गर्ने सडक समयमै नबन्ने करिब पक्का देखिएको छ ।