नेपालको पर्यटकीय राजधानी पोखरा
Sunday, March 17th, 2024, 3:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ चैत
कास्कीको पोखरा सहरलाई पर्यटकीय राजधानीको रूपमा औपचारिक घोषणा भएको छ ।
आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । उनले पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।
उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ-आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबी गरे ।
‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । सम्पूणर् निकायहरुको संस्थागत निणर्य र सिफारिसको आधारमा घोषणा गरिएको हो’, उनले भने ।