माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
Monday, March 18th, 2024, 12:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ चैत
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले बताए । ‘उहाँलाई पक्राउ गरिएको छ, आजै काठमाडौं ल्याइन्छ,’ उनले भने ।
इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ । यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो । उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।
महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु-छोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए। चिनियाँ तस्कर समूहले भेप छुटाउने प्रयास गरिरहँदा विमानस्थलकै कर्मचारीहरूले भेपभित्र सुन रहेको थाहा पाएका थिए । त्यसपछि सुन चोरी गरी अर्कै भेप राखिएको थियो ।
भेप नै चोरी भएको थाहा पाएपछि भन्सार कार्यालयले छानिबन गर्न सिआइबीलाई अनुरोध गरेको थियो । त्यसमा संलग्नहरूलाई पक्राउ गरेपछि महरा-बाबु छोरा र चिनियाँ तस्कर समूहबारे खुलेको थियो ।